काठमाडौँ — पुनर्निर्माण सम्पन्न भएपछि युनेस्को विश्व सम्पदा सूचीमा सुचीकृत पाटन दरबार क्षेत्रस्थित कृष्ण मन्दिर शुक्रबारबाट सर्वसाधारणका लागि खुला गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले साँझको ४ बजे मन्दिरभित्र गईविधिवत् रुपमा पूजाआजा गरे । अधिकारीले कृष्ण मन्दिरबाटै त्यहाँस्थित पुरातात्विक सम्पदाहरुको अवलोकन गरे भनेअन्य मठमन्दिर समेत घुमे ।


मन्दिरमा आयोजित पूजा कार्यक्रममा मन्त्री अधिकारीसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र उपमेयर गीता सत्याल लगायत सहभागी थिए ।

२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले कृष्ण मन्दिर पूर्ण रुपले क्षतिग्रस्त बनेको थियो । मन्दिर क्षतिग्रस्त बनेपछिको झण्डै २ वर्षपश्चात् पुनर्निर्माणको काम थालिएको थियो । मन्दिरको पुनर्निर्माण कार्यको जिम्मा काठमान्डु भ्याली प्रिजर्भेसन ट्रष्ट (केभीपीटी) ले लिएको हो । पुनर्निर्माण सम्पन्न भएपछि मन्दिरको वरिपरि लगाइएको जाली (बार) झिकिएको छ । योसँगै त्यहाँ वरपर रहेका अन्य मन्दिरहरुको पुनर्निर्माण पनि धमाधम भइरहेको र अन्तिम अन्तिम चरणतर्फ आइपुगेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय मंगलबजारले जनाएको छ ।

मन्दिर पुनर्निर्माण भइसकेको शुभसाइत जुराएर सोमबारबाट सुरु हुने गाईजात्राको शुभारम्भ ललितपुरको हकमा यही कृष्ण मन्दिरबाट बिहान ९ बजेदेखि सुरु गर्ने आयोजक श्रीकृष्ण गुठी मंगलबजारले सूचना समेत जारी गरेको छ ।

पाटन दरबार क्षेत्रमा अवस्थित यो मन्दिर १७ औं शताब्दीमा राजा सिद्धिनरसिंह मल्लले निर्माण गर्न लगाएको इतिहास छ । शिखर शैलीमा निर्माण गरिएको यस मन्दिरलाई मुलुककै सबैभन्दा ठूलो कृष्ण मन्दिरको रुपमा चिन्ने गरिन्छ । २१ वटा गजुर भएको यो मन्दिर ढुङ्गैढुङ्गाबाट बनाइएको छ ।






No comments:
Post a Comment