Tuesday, August 7, 2018

तन्त्रदीक्षा ग्रहण गर्न अमेरिका देखि...


तान्त्रिक दीक्षा पाएका पाँचजनालाई भक्तपुरमा सम्मान

तन्त्रदीक्षा ग्रहण गर्न अमेरिकादेखि


श्रावण १२, भक्तपुर ।

भक्तपुरको २५ गते परिवार नामक एक संस्थाले एक समारोहबीच तान्त्रिक दीक्षाप्राप्त पाँचजना युवा ब्राह्मण र ब्राह्मणीहरूलाई कदर–पत्रसहित सम्मान गरेको छ । दीक्षा पाउनेमध्ये एकजना अमेरिकाको ओक्लोहामा निवासी सुशील राज शर्मा तान्त्रिक दीक्षा ग्रहण गर्नकै लागि नेपाल आउनु भएको थियो ।


महेन्द्र राज शर्मा, अध्यक्ष ,खौमा बैठक, भक्तपुरबाट  कदर-पत्र ग्रहण गर्नु हुदै सुशील राज शर्मा  (बायाँ, ढाका टोपी लगाउनु भएका ) l  फोटो : संजय  राज शर्मा राजोपाध्याय 


नेवाः समुदायका ब्राह्मण राजोपाध्यायहरूमध्ये परम्परागत रूपमा मानिआएको पश्चिमाम्नाय तन्त्रमा दीक्षा प्राप्त गरी परम्परालाई निरन्तरता दिएकाले यो सम्मान कार्यक्रम आयोजना गरिएको २५ गते परिवारका संयोजक सुरेश राज शर्माले बताउनुभएको छ । तन्त्र परम्पराअनुसार छवटा आम्नाय वा दिशाहरू मानिन्छ — पश्चिम, पूर्व, उत्तर, दक्षिण, अर्ध र ऊध्र्व । पश्चिमाम्नायलाई सर्वाम्नाय (सबै आम्नायको अधिकारप्राप्त) वा ज्येष्ठाम्नाय (सबैभन्दा ज्येष्ठ वा उत्तम आम्नाय) मानिन्छ ।


 कदर - पत्र                               फोटो : सर्वेश राज शर्मा 


उक्त कार्यक्रममा तन्त्रदीक्षा गुरु ९३ वर्षीय पण्डित रत्न राज शर्मा राजोपाध्यायले यस संस्कृतिलाई जीवन्त राख्न नयाँ पुस्ताले देखाएको जागरुकताको प्रशंसा गर्दै भन्नुभयो, “हाम्रा कतिपय संस्कृतिहरू लोप हुन लागिसके, कति लोप भइसके । त्यसैले अहिलेको समयसापेक्ष हुने गरी दीक्षा दिने परम्परा पनि सकेसम्म छोटकरी गरेर भए पनि यसलाई जीवन्त राख्नु हाम्रो दायित्व हो ।”

तन्त्र गुरु पं. रत्न राज शर्मा राजोपाध्यायले गत श्रावण शुक्ल नवमीको ग्रीष्म नवरात्रका अवसरमा काठमाडौँको गौशाला निवासी अखण्ड शर्मा, भक्तपुर दरबार क्षेत्र निवासी सावित्री शर्मा, सोही क्षेत्रका तर अमेरिकाको ओक्लोहामा निवासी सुशील राज शर्मा, भक्तपुर दरबार क्षेत्रकै सलिल राज शर्मा र सर्वेश राज शर्मालाई दीक्षा प्रदान गर्नुभएको थियो ।


दीक्षा प्राप्त गरेकाहरूलाई यसरी सम्मान नै गरिएको यो सम्भवतः पहिलोपटक हो । यसले नयाँ पुस्तामा तन्त्रदीक्षासम्बन्धी जागरुकता र इच्छा बढाउने विज्ञ पं. विनोद राज शर्मा बताउनुहुन्छ ।


काठमाडौँ उपत्यकाका नेवाः समुदायका गुरु–पुरोहित राजोपाध्याय वर्गको जनसङ्ख्या करिब दुई हजारदेखि २५ सयको हाराहारीमा अनुमानित छ भने यस वर्गमा पश्चिमाम्नाय तन्त्रमा दीक्षित हुनेहरू करिब ५० जना मात्र अनुमानित छ । यसमध्ये सबैभन्दा बढी दीक्षित समुदाय भक्तपुरमा छन् र तीनै शहरहरूमा नयाँ पुस्तामा पनि उल्लेख्य दीक्षितहरू छन् ।


दीक्षित भएकाहरु सबै एकजुट भई यस बिषयमा थप अध्ययन, अनुसन्धान गर्नुका साथै युवा पुस्तालाई आर्कषित गर्न  गराउन सकिएमा यस मौलिक संस्कृतिको संरक्षण र सम्बर्धनमा टेवा पुग्ने देखिन्छ l



No comments:

Post a Comment