आश्विन २०, २०७३- महिला क्रिकेटको विश्वकप छनोटमा सहभागी हुन नेपाली राष्ट्रिय टिम बिहीबार हङकङतर्फ प्रस्थान गर्दैछ । 
आइतबार सुरु हुने एसियाली छनोटमा आयोजक हङकङ, चीन, थाइल्यान्ड र नेपालले प्रतिस्पर्धा गर्नेछन् । नेपालले पहिलो खेलमा आइतबार हङकङको सामना गर्नेछ । उनीहरूले एक–अर्काविरुद्ध दुई–दुई खेल खेल्नेछन् र शीर्षस्थानमा रहने टिमले विश्वकपको अन्तिम छनोटमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् ।
प्रशिक्षक राजु बस्न्यातले सम्हालेको नेपाली टिम एक महिना बढी तयारी गरेर छनोटमा सहभागी हुन लागेको हो । दुई वर्षअघि भएको इन्चोन एसियाडयता नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलोपल्ट प्रतिस्पर्धा गर्न लागेको हो । कप्तानमा रुविना क्षत्री निरन्तर छिन् भने १४ खेलाडीको टिममा पाँच खेलाडी फेरिएका छन् ।
निर्मला शाही, ज्योति पाण्डे र शवनम राईले पनि पहिलोपल्ट राष्ट्रिय टिममा स्थान पाएका छन् भने रोशनी बोहरा र रश्मी शर्माले पुनरागमन गरेका छन् ।
सीता रानामगरलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । नेरी थापा, सरिता मगर, नीरा राजोपाध्याय, काजोल श्रेष्ठ, करुणा भण्डारी, सरस्वती चौधरी र इन्दु बर्मा टिममा यथावत् छन् ।
प्रकाशित: आश्विन २०, २०७३
Source:http://kantipur.ekantipur.com/news/2016-10-06/20161006083235.html