Friday, September 30, 2016

Rajopadhyaya in News : ललितपुरका प्राचीन परम्पराहरु संकटमा

ललितपुरका प्राचीन परम्पराहरु संकटमा

बिहीबार, १३ असोज, २०७३ मा प्रकाशित, 1641 पटक हेरिएको

काठमाडौं, असोज १३ । ललितकलाले प्रख्यात ललितपुरको अस्पश्र्य सम्पदा संरक्षणमा राज्य गम्भीर नभएको भनाइ सरोकारवालाहरुले राखेका छन् ।
लिच्छिवीकालदेखि चल्दै आएका परम्परा यही कारण रोकिएको भन्दै नेपाल सरकार, गुथि संस्थान तथा स्थानीय निकायको उनीहरुले ध्यानाकर्षण गराएका छन् ।
नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाले विहीबार ललितपुर दरबार क्षेत्र मूलचोकसँग सम्बन्धित जात्रापर्वहरुको अवस्थाबारे आयोजना गरेको अन्तरक्रियामा उक्त कुरा उठेको हो ।
दसैंका अवसरमा विभिन्न स्थानका विभिन्न नाच, नृत्य, जात्रा, परम्पराहरु मूलचोक प्रवेश गराइनुपर्ने चलन रहेको छ, जुन चलनहरुमध्ये धेरैजसो हाल लोप भइसकेको अवस्था छ ।
यी जात्रा सन्चालन गर्दै आएका विभिन्न समुदायको उपस्थितिमा भएको सो कार्यक्रममा गण नृत्य प्रबन्ध समितिका अध्यक्ष राजेन्द्र शाक्यले संस्कृति मन्त्रालयले नै आजको समयमा यस्तो परम्पराको के काम भनेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
स्थानीय सक्रियतामा पुनः सन्चालनमा आएको गण नृत्य (अष्टमातृका नाच, गंप्याखं)का लागि सरकारले कुनैपनि किसिमको सहयोग नगरेको उनको भनाइ थियो ।
स्थानीय निकायको सामान्य सहयोगमा चन्दा संकलन गरी चलिरहेको यो परम्परामा आर्थिक अभावकै कारण २०६४ सालदेखि गमन जाने चलन रोकिएको उनले बताए ।
थेचोबाट ललितपुर दरबार क्षेत्र ल्याइने हाल सन्चालनमा नरहेको गथु प्याखं पनि गुथि संस्थानले अतिआवश्यक व्यवस्थामासमेत इमान्दार भएर नगरीदिँदा रोकिएको भनाइ भवानी देवी गुथि नाइके भक्तलाल मालीले राखे ।
तलेजु भवानीको पुजारी निरन ज्वालानन्द राजोपाध्यायले खड्गी समाजले चलाउँदै आएको हिखःद्यः जात्रा बन्द भएको बताए भने दरबार क्षेत्रको घन्टा बजाउने, नगरा बजाउने, पुरातत्वको बगैचाबाट विभिन्न देवदेवीलाई फूल चढाउनुपर्ने चलनहरु पनि लोप भएको बताए ।
परम्पराका लागि छुट्याइएको रकम बुझेर पनि काम नगर्ने प्रवृत्ति रहेको उनले आरोप लगाए ।
लोप भएको खड्गजात्रा पायोको आर्थिकस्रोत नभएकै कारण बन्द भएको राजोपाध्याय समाजका अध्यक्ष वदन शर्माको भनाइ थियो ।
ज्यापु समाजका उपाध्यक्षसमेत रहेका खड्गजात्रा पायो परम्परासँगसम्बन्धी सन्तमान महर्जनले आर्थिकस्रोतको अभावका साथै सुरक्षा नभएका कारण पनि यो परम्परा लोभ भएको बताए भने ललितपुर उपमहानगरपालिकाको आयको २५ प्रतिशत संस्कृति र परम्पराका लागि खर्चने विगतमा भएको सम्झौता कार्यान्वयन नभएको भन्दै असन्तुष्टि पोखे ।
हालै भएको एउटा सहमतिमा पर्यटक आगमन आयको ५ प्रतिशत रकम संस्कृति सरक्षणका लागि छुट्याउनेबारे पनि ध्यानाकर्षण गराएका थिए ।
भूकम्पबाट प्रभावित भएकै कारण सम्पदा संरक्षणमा चुनौती थपिएको भन्दै ललितपुर दरबार क्षेत्रको मूलआगम घर संरक्षणको बेवास्ता गरेकोमात्र नभइ सांस्कृतिक महत्वलाई ध्यान नदिइ उक्त क्षेत्र बिनाजानकारी ठेक्कामा लगाइएकोप्रति मूछेँआगंका पुजारी माधवश्याम शर्माले असन्तुष्टि पोखे ।
ललितपुर दरबार क्षेत्रसँग सम्बन्धित परम्पराको मूल स्थान मूलआगंछेँ (आगमघर)को संरक्षणमा प्राथमिकता रहनुपर्ने लिच्छिवीकालीन मानदेवका वंशज मूछेँ आगं सम्बन्धित कार्यका व्यवस्थापक साम्राज्यदेव श्रेष्ठले भने ।
ललितपुरको सांस्कृतिक परम्परामा जीवितदेवी कुमारीको महत्वपूर्ण स्थान रहेतापनि राज्यले त्यो महत्वप्रति चासो नदिएको भन्दै काठमाडौं र ललितपुरको कुमारीबीच विभेद गरेको भनाइ कुमारी व्यवस्थापन समितिका संयोजक सिद्धिरत्न बज्राचार्यले राखेका हुन् ।
कार्तिक नाच प्रबन्ध समितिका संजय शर्माले भने एक महिनाको कात्तिक नाच १२ दिनमा सीमित भएको र कात्तिक डबलीमा मन्चन हुने यो मल्लकालीन नाचसँग जोडिएका अरु परम्परा लोप भएको बताए ।
फूलपातीका दिन कात्तिका नाचका ३ देवीले भलिमन्डलबाट फूलपाती ल्याउनुपर्ने चलन लोप भएको उनको भनाइ थियो ।
नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय महासचिव सुनील महर्जनले भने अस्पश्र्य सम्पदाप्रति स्पस्ट धारणा नै नआएको भन्दै जात्रापरम्परा सन्चालनमा सक्रिय समुदायलाई प्रशासनको झन्झटिलो प्रक्रियाले अन्योल बढाएको बताए ।
सुरक्षाकै कारण कुनै परम्परामा कुनैपनि किसिमको अवरोध नहुने गरी सुरक्षा व्यवस्था मिलाउने भनाइ महानगरीय प्रहरी प्रभाग मंगलबजार प्रमुख रेशम बोहराको भनाइ थियो ।
ललितपुर नगरभित्र सन्चालनमा आइरहेको चलनहरु निरन्तर गर्न ललितपुर उपमहानगरपालिकाले सकेसम्म सहयोग गरेको भनाइ उपमहानगरपालिकाका कार्यकारी प्रमुख भरतमणि पाण्डेको थियो ।
यी परम्पराहरुको प्रवद्र्धन गर्नुपर्ने भन्दै निश्चित समयमामात्र नभइ अरु समयमा पनि पर्यटकका लागि यी परम्परा प्रस्तुत् गर्नसके पर्यटन क्षेत्रमा योगदान पुग्ने उनको भनाइ थियो ।
गुथि संस्थानका निमित्त प्रमुख वैकुण्ठ आचार्यले सरकारले गरेको व्यवस्थाबाहेकका आवश्यकता पूर्तिका लागि प्रक्रियागतरुपमा अगाडि बढ्नुपर्ने भएकोले समय लाग्ने बताए ।
सम्बन्धित गुथि संस्थान, जिल्ला प्रशासन कार्यालय, ललितपुर उपमहानगरपालिका, परम्परा सन्चालन गर्ने समुदाय तथा नीजि क्षेत्रबीच समन्वय हुनुपर्ने उनले बताए ।
पर्याप्त नभएपनि संस्कृति संरक्षणमा सहयोगको प्रयास ललितपुर उपमहानगरपालिकाको रहेको उपमहानगरपालिकाका कार्यकारी प्रमुख भरतमणि पाण्डेको भनाइ थियो ।
ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष सविन श्रेष्ठले भने रात्रिकालीन पर्यटनको विकास गर्नुपर्ने धारणा राख्दै संस्कृति संरक्षण र सन्चालनमा नीजि क्षेत्रसँगै क्रियाशील रहेको भनाइ राखे ।
पत्रकार दबू ललितपुर शाखाका अध्यक्ष सुरज ब्यञ्जनकारको सभापतित्वमा भएको उक्त कार्यक्रम सचिव राजेश बज्राचार्यले सन्चालन गरेका थिए भने प्रशान्त मालीले कार्यपत्र प्रस्तुत् गरेका थिए ।