Friday, September 9, 2016

राजोपाध्याय : संक्षिप्त परिचय

Rajopadhyaya

सिमित अध्ययन गरी राजोपाध्यायहरुका बारेमा गलत तथ्य लेखिएका धेरै ठाउँमा छन्। छोटोमा भन्नु पर्दा, जयस्थिती मल्लका पालामा केही ब्राहमणहरु नेपाल भित्रिएका थिए, तर ति राजोपाध्यायहरु नभै झा र मिश्र ब्राहमणहरु थिए, जो सँग राजोपाध्यायहरुले कहिल्यै बिहेवारी वा अन्य संबन्ध बनाएनन। त्यती खेर भित्रिएका झा वा मिश्रहरुका घरमा अहिले पनि महिलाहरु नाकमा फुली लगाएका नै भेटिन्छन्, जबकी राजोपाध्याय महिलाहरु नाकमा फुली लगाउदिनन् । झा वा मिश्रहरुका परिवारका बिहेवारी भारत वा तराइ भेगका झा वा मिश्रहरु सँगइ मात्र हुने गर्दछ। जबकी राजोपाध्याय हरु को बिहेवारी आफ्नो कवल बाहेक सात पुस्ते नाता नपर्ने देव ब्राह्मण सँगइ हुने गर्छ । राजोपाध्याय भनेको एउटा मूल बाट सुरु भएको बंश बृक्ष नभै पाटनको छ वटा कूल, भक्तपुरको छ वटा र काठमाडौंको दुइ वटा फरक देव ब्राह्मण कूल वा परिवारको समूह लाई बुझाउने नेवार समुदायको एउटा बर्गको नाम हो ।

राजोपाध्यायहरुका पाटनमा षटकुल अर्थात छ वटा, भक्तपुरमा षटकुल अर्थात छ वटा र काठमाडौंमा २ वटा मूल कवल (परिवार) छन। गोत्र अनुसार, पाटनकाहरु गार्ग्य गोत्र, भक्तपुरका भारद्वाज गोत्र र काठमाडौंका कौशिक गोत्रका हुन। यि तिनै शहरमा सबैका कुलघर देशको लायकू राजदरवार नजिकै रहेका छन। ६+६+२=१४ परिवार मात्र लाई राजोपाध्याय देव ब्राह्मण भनिन्छ, जस्का आ-आफ्ना ठाउँका आ-आफ्नै उपाकर्म गुठी हुने गर्दछ र कुनै पनि बाह्र्य ब्यक्ती वा परिवार यस्मा समाबेश गरिदैन। यदी कसैले अन्तर्जातिय विवाह गरिल्याएमा उनका सन्तानलाई आमा पट्टीको जात मा बर्गिकरण गर्ने मात्रीसत्तात्मक परम्परा रहेको छ तर सो सन्तान भने उपाकर्म गुठीबाट बाहिरिनुपर्ने भने हुन्छ र आमा पट्टीको थर उस्ले प्राप्ती गर्दछ ।

राजोपाध्यायहरु नेपालका एक मात्र निगमागम कौलिक ब्राहमण हुन, अर्थात दाँया हातले वैदिक र बाँया हातले तान्त्रिक पूजा पूजा गर्ने अधिकार प्राप्त हुन। आफ्नो यही निगमागम पद्दती बाटै राजोपाध्यायहरु आ-आफ्नो र आफु संबन्धित मन्दिरको र आफ्नो यजमानको संस्कार गर्ने गर्दछन।

चारै बेदका अधिकारी भएपनी, शुक्लयजुर्वेद र ऋग्वेदमा बिशेष दखल यो जातिको रहेको छ भने तन्त्रमा महानिर्वाण वा परमनिर्वाण सम्मको बिधी हाल सम्म यथावत रहेको छ। ललितपुरमा यो जाती अग्निशाला स्थापना गरी बसेको हो, त्यहा वारीपरी भएका रूखहरु यिनै अग्निशालामा यज्ञ गर्ने क्रमको प्रथम दिन रोपिएको मानिन्छ। त्यस्तै अग्निशाला भित्र गरिने पूजा बिधी लाई धेरै विद्वानहरुले वैदिककालको बिधी जुन अरुकोमा अवषेश मात्र बाँकी रेहेको, तर अग्निशालामा भने यथावत हाल सम्म पनि चलेको बताउदछन। अझ, अग्निशाला भित्र पुजिने देवता 'मित्रावरूण' लाई भारतीय हिन्दूहरुले त बिर्सिसकेको अती प्राचीन देवता मानिन्छ। पाटनका प्राचिन बासिन्दाहरुका कुल देवी पूर्णचण्डीलाई स्वामीपूर्णानन्ददेवले स्थापना गरेका थिए, जो मेरै पुर्खा हुन। अग्निशाला पाटनमा हुनु पूर्व यो मन्दिर साँखुमा रहेको लोक विश्वाश छ। तसर्थ ललितपुरका राजोपाध्यायहरुको कुरा गर्ने हो   भने अग्निशालाका रूख जती उमेर भयो, पूर्णचण्डीको स्थापना भएको जती उमेर भयो, हाम्रो यहाँ उपस्थिती त्यती नै बर्ष पुरानो हो। त्यस्तै काठमाडौंमा पशुपतीनाथका मूल पूजारी पहिले राजोपाध्यायहरु नै थिए, पछी समसुद्दिन र गयासुद्दिनको आक्रमण बाट पशुपती लिङ्ग बिग्रेपछी खुन भएको ( टुटेको , फुटेको ) लिङ्ग पूजा गर्न छोडेर मखन महादेव स्थापना गरी आफ्नो नित्य शिवार्चन गर्ने गरेका थिए। तर पछी बौद्ध हरुले, सन्यासीहरुले र पछी भारतीय भट्टहरुले राजोपाध्याय सँग दिक्षा लिइ पुरानो पशुपतीको नित्य पूजा सन्चालन गरे। काठमाडौंमा अवस्थित बिज्येश्वेरी देवी लाई मखँछेँ राजोपाध्याय कूलकी छोरी हुन भनी आज सम्म मान्यता प्राप्त छ। मखँछेँमा कोही जन्मेको अथवा मरेको सुतकको जानकारी हालसम्म पनि बिज्येश्वेरी देवीलाई चढाउनु पर्ने नियम अझै बाँकी नै छ। भक्तपुरमा चाँगुनारायण देवताको स्थापनाकाल देखी नै सोही परिवारले हालसम्म नित्यपुजा गरीनैरहेका छन। सो देवताको स्थापनाको कथा सँग सोही राजोपाध्यायदेव ब्राहमणको परिवारको कथा पनि जोडीएको छ।

समग्रमा प्राचिन काल देखी घरमा गौपालन ( गाई पालेर) गरी आफ्नो आगम तन्त्र र निगम बैदिकको ज्ञानका साथ, साधारण जीवनयापन गर्ने, राजखलक सँग निकट रहे पनि कहिल्यै राज्य संचालनमा प्रत्यक्ष हात नहाल्ने, अरुलाई धर्म वा नियमको शिक्षा दिने, आगमको दिक्षा दिएर निर्वाण पथ देखाउने, बौद्ध धर्मी गुभाजुहरु सँगइ रही धार्मिक सहिष्णुताका साथ चल्ने, आचाजुलाई तन्त्र दिक्षा र जोशीलाई ज्योतिष दिक्षा दिने, राजाको गुरु र पुरोहित मात्र नभै राजाको आगम समेतलाई आफ्नो बिधी बिधानले सन्चालन गर्ने, गोपाल बंशी गोपालीहरुका पुरोहित, किरातकालमा शाक्तपन्थ बाट भैरवागम चलाऊने, लिच्छवीकालमा शाक्तपन्थ बाट वैष्णवागम चलाऊने, मल्लकालका शाक्तपन्थ बाटै शाक्तागम चलाऊने, मूल तलेजुका मूल पूजारी, पाटन कृष्ण मन्दिरका पूजारी, इचङ्गु नारायणका आदिकाल देखिका पूजारी, शेषनारायण फर्पिङका आदिकाल देखिका पूजारी, चाङ्गुनारायणका आदिकाल देखिका पूजारी, साँखु माधव नारायणका आदीकाल देखिका पूजारी, थानकोट आदिनारायणका आदिकाल देखिका पूजारी, अग्निशाला र पूर्णचण्डीका आदिकाल देखिका पूजारी, हरिसिद्धीमाइका आदिकाल देखिका मूल पूजारी, चापागाँउको प्याङ्गगाँउका आदिकाल देखिका पुरोहित, कागतीगाँउ-चित्लाङ्ग-फर्पिङ-साँखु-बनेपा-दोलखा-किर्तिपुर-लुभु-पनौती -थैव -इचङ्गु-टोखा -सतुङगल- ठिमी- बोडे, आदी इत्यादीका आदिकाल देखिका पुरोहित भएर हाल सम्म आफ्नो अस्तित्व बचाइराखेको जाती हो राजोपाध्याय, जसलाई ब्राहमणहरुको श्रेणीमा देवब्राहमण अथवा द्य:बाज्या, द्य:भाजु, द्य:ब्रह्मु आदिले चिनिन्छ। यो राजोपाध्याय सम्बन्धी संक्षिप्त परिचय मात्र हो।

 समग्रमा पशुपती सँग को सम्बन्धलाई छोडेर मात्र कुरा गर्ने हो भने पनि लिच्छवीकालिन मन्दिरहरुमा, मन्दिर मात्र होइन मूल देवता स्थापनाकाल देखी नै राजोपाध्यायहरुको उपस्थिती यस् नेपाल मण्डलमा देखिन्छ। पाटनको अग्निशाला अर्को सशक्त उदाहरण हो। मल्लकालमा यो जातिले आफ्नो ज्ञानको भरपूर सदुपयोग गरेको देखिन्छ भने, शाह काल आएपछी बिर्ताहरण आदी को निहुँमा बिबिध पक्ष बाट धेरै सताइएको, दमन भएको जाती हो।

 Source: https://www.facebook.com/notes/bijay-sharma-rajopadhyay/rajopadhyaya/1148449081893025




No comments:

Post a Comment