Tuesday, February 3, 2015

Rajopadhyay in News : सेन्सरले रोक्यो 'कीर्तिपुर'

सेन्सरले रोक्यो 'कीर्तिपुर'

अन्‍नपूर्ण|२०७१ माघ २० मंगलवार3122 पटक पढिएको
काठमाडौं : ऐतिहासिक चलचित्र 'कीर्तिपुर, द लिजेन्ड अफ कीर्तिलक्ष्मी'लाई सेन्सर बोर्डले रोकेको छ। चलचित्र अठारौं शताब्दीमा तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि गरेको आक्रमणको विषयमा आधारित छ। 
 
चलचित्र निर्माण शैली अब्बल भए पनि ऐतिहासिक पक्ष तथा राजपरिवारसम्बन्धी विषय भएकाले तुरुन्तै निर्णय गर्न नसकिएको सेन्सर बोर्डका सदस्य तथा सञ्चार मन्त्रालय उपसचिव कृष्णप्रसाद पोखरेलले जानकारी दिए। चलचित्र ऐतिहासिक विषयमा आधारित भएकाले दर्शकलाई दिने सन्देशका बारेमा टुंगो नलगाई अनुमति दिन नमिल्ने उनको भनाइ छ। 
 
फोकस पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई प्रदीप खड्गीले निर्देशन गरेका हुन्। चलचित्रमा हिसिला महर्जन, मणि लवट, सुरज गराच, लक्ष्मी गिरी, मदनदास श्रेष्ठ, शूरवीर पण्डित, सुशील राजोपाध्याय, विनोद श्रेष्ठ, उदय श्रेष्ठलगायतले अभिनय गरेका छन्। 
 
त्यसैगरी चलचित्रमा भीएफएक्स सुपरभाइजर सन्तोष केसीको एनिमेसन, हरिशरण सायमीको संगीत, उदय श्रेष्ठको द्वन्द्व, मृत मरहठा र दीपसन परियारको शृंगार एवं शंकर महर्जन तथा नवीन जोशीको छायांकन रहेको यस चलचित्रमा वीरेन्द्र ताम्रकार, प्रेम खड्गी र अनन्त श्रेष्ठको लगानी रहेको छ। 
 
चलचित्र निर्माणको सर्वमान्य सिद्धान्तलाई आधार बनाएर तयार गरिएको चलचित्र कीर्तिपुर द लिजेन्ड अफ कीर्तिलक्ष्मीमा सन्तुलित कथावस्तु भएको निर्देशक प्रदीप खड्गीको दाबी छ। 
 
चलचित्र विकास बोर्डमा औपचारिक दर्तापश्चात् बनाइएको चलचित्रलाई प्रदर्शनीको समयमा रोक्नु उपयुक्त नभएको चलचित्रका कला निर्देशक केके मानन्धरले बताए। विकास बोर्डको हलमा दुई महिना अगाडि सेन्सर बोर्डका सदस्यले चलचित्र हेरेका थिए। 
Source: http://annapurnapost.com/News.aspx/story/6787

No comments:

Post a Comment