Saturday, November 16, 2013

मल्लकालीन निर्देशक र कलाकारको खोजी

-प्रचण्ड मल्ल 

आश्विन १ - 'हरिसिद्धि पुराणअनुसार नेपालमा नाटक सर्वप्रथम कलिगत वर्ष २९६० अर्थात् विक्रम सम्वत्भन्दा ९४१ वर्ष अगाडि भएको थियो । त्यो हरिसिद्धि नाटक थियो । यसको कथावस्तु धार्मिक छ र उग्रतारा श्री नीलसरस्वतीलाई मूल बनाई सूत्रवीरले नागेन्द्रलाई वध गरेको उपाख्यानलाई लिएर नाटक रचना गरिएको छ । राजा विक्रमसेनले उग्रतारादेवीकै आज्ञा शिरोपर गरी यो नाटक निर्माण गरेको हो भन्ने वंशावलीको भनाइ छ । तर पछि नाटक लोप भयो । कलिगत ३७०५ मा विश्वकर्मा नामका मानिसले नाटकलाई नृत्यको रूपमा परिणत गरेछन् । विक्रम सम्वत् १००३ मा नाटक पुनः बन्द भयो । फेरि राजा प्रताप मल्लको शासनकालदेखि नृत्य परम्परामा यसको पुनर्निर्माण भयो, जुन आजसम्म चलिरहेकै छ । भाषा भने नबुझिने भइसकेको छ ।'उपर्युक्त कुरा 'जुजु जयप्रकाश मल्ल या रत्नेश्वर प्रादुर्भाव' मा सं. प्रेमबहादुर कसा लिखित 'झिगु नाटक परम्परा' बाट बुझिन्छ ।मल्लकालमा मञ्चित नाटकका निर्देशक एवं कलाकारको खोजी गर्दा त्यतिबेलाका नाटकप्रेमी राजाको नाम लिनुपर्ने हुन्छ ।भक्तपुरका नाटककार राजा- विश्व मल्ल, त्रैलोक्य मल्ल, जगज्योति मल्ल, जगत्प्रकाश मल्ल, जितामित्र मल्ल, भूपतिन्द्र मल्ल, रणजित मल्ल हुन् भने ललितपुर- सिद्धिनरसिंह मल्ल, श्रीनिवास मल्ल, योगनरेन्द्र मल्ल, विष्णु मल्ल तथा कान्तिपुरका- भूपालेन्द्र मल्ल, भाष्कर मल्ल -महिन्द्र मल्ल), जगज्जय मल्ल, जयप्रकाश मल्ल हुन् ।नेपाल विभाजन हुनुअघि एवं पछि दरबारमा आश्रति जनकवि नाटककारमध्ये जयत्, मणिकबर्द्धन, ज्योतिरीश्वर, वंशमणि उझा, शुभराज, धनपति, मणिनागराज, रामचन्द्र, हरिवंश शर्मा, वीरनारायण, श्रीधर, रघुनाथ, गोकुलनाथ, काशीनाथ, रामभद्र शर्मा, रामभारो, कृष्णानन्द, विश्वनाथ उपाध्याय, दैवज्ञ गंगाधर, गणेश, कृष्णदेव, चन्द्रशेखर आदि थिए ।पारम्परिक संस्कार, धार्मिक कार्य, राज्याभिषेक, राजपरिवारको जन्मोत्सव, व्रतबन्ध, तुलादान तथा मन्दिरमा गजुर हाल्दा, बाटो, पाटीपौवा निर्माण, मर्मत-सम्भार आदिको शुभारम्भमा र कार्य पूर्ण भएपछि नाटक मञ्चन गर्ने चलन थियो ।राजा जयस्थिति मल्लको जेठा छोरा धर्म मल्ल जन्मेको खुसियालीमा 'चतुरंग रामायण' नाटकको मञ्चन गरिएको थियो । यसको चर्चा गोपाल-वंशावलीमा छ । ने.सं. ४८७ प्रथमाषाढ कृष्ण अमावस्याका दिन यो मञ्चन भएको थियो । यिनै युवराजको व्रतबन्धमा 'राघवानन्द' नाटकको प्रदर्शन गरिएको थियो । ने.सं. ५०३ फागुनमा यिनको विवाह हुँदासमेत भैरवानन्द नाटक मञ्चन गरिएको थियो । दुवै नाटक कवि मणिकाबर्द्धनले लेखेका थिए ।राजा राय मल्लले ने.सं. ६०२-२१ तिर सुवर्ण तुलादान गर्दा 'चतुरंक महाभारत' नाटकको मञ्चन गरिएको थियो ।नाटककार राजा जगत्ज्योति मल्लले 'हरगौरी विवाह' नाटक लेखेर सूर्यग्रहण परेको समयमा तुलापुरुष दान गर्दा यो नाटक ने.सं. ७४९ मा मञ्चन गराए ।नाटककार राजा जगत्प्रकाश मल्लले -ने.सं. ७६३-९३) ले कान्छा छोरा उग्र मल्लको उपनयनमा आफैंले लेखेको नाटक 'मदन चरित' मञ्चन गराए । यिनै नाटककार राजाद्वारा रचित अर्को नाटक 'मलय गन्धिनी' पनि मञ्चित भएको थियो ।अर्का राजा जितामित्र मल्ल -ने.सं. ७९३-८१६) द्वारा रचित नाटक 'महाभारत' त्यतिबेला कुनै व्यक्तिको विवाहको उपलक्ष्यमा मञ्चित भएको थियो ।राजा भूपतिन्द्र मल्लले लेखेको नाटक 'विक्रम चरित' ने.सं. ८२६ मा भक्तपुरको मूलचोकको तलेजु मन्दिरमा ११ वटा गजुर चढाएर यज्ञ गर्दा मञ्चित भएको थियो ।यिनै राजाका छोरा रणजित मल्लको विवाहको उपलक्ष्यमा ने.सं. ८३३ मा सात अंकको 'उषाहरण' नाटकको प्रदर्शन गरियो ।राजा रणजित मल्लद्वारा लिखित प्रशस्त नाटकहरू मञ्चन भए । जसमध्ये ने.सं. ८५९ मा आफ्नो इष्टदेवताको मन्दिरमा ठूलो घण्ट चढाएको उत्सवमा 'कृष्ण चरित्र' नाटक मञ्चन भयो । ने.सं. ८७८ मा इष्टदेवताको मन्दिर जीर्णोद्धार गर्दा 'उषाहरण' नाटक । ने.सं. ८८१ मा कार्तिकप्रत पूरा भएको उपलक्ष्यमा 'ययात्युपाख्यान' नाटक । ने.सं. ८८८ मा इष्टदेवतालाई खुसी पार्न 'अन्धकासुखधोपाख्यान' नाटक आदि ।'गीत दिगम्बरम्' रूपक -नाटक) कविन्द्र राजा प्रताप मल्लले ने.संं. ७७७ श्रावण कृष्ण पञ्चमी बुधबारका दिन तुलपुरुष दान गरेको उपलक्ष्यमा मञ्चन गराए । यस नाटकका रचनाकार थिए- मैथिल कवि वंशमणि उपाध्याय ।राजा भास्कर मल्ल -महिन्द्र सिंहदेव) को राज्यकालमा 'ज्ञानवती' कथाको आधारमा तयार गरिएको नाटक ने.सं. ८४१ मा लग्नराछे टोलको डबलीमा खेलाइएको कुरा अंकित छ ।राजा जगज्जय मल्ल -ने.सं. ८४२-८५६) रचित नाटक 'अभिनव प्रवोध चन्द्रोदय' पशुपतिनाथको उद्देश्यले जत्रा चलाउँदा देशदेशान्तरका निमन्त्रित पण्डितलाई देखाउन मञ्चन गरिएको थियो । राजा जयप्रकाश मल्लको नाटक 'रत्नेश्वर प्रादुर्भाव' 'भैरव प्रादुर्भाव' ने.सं. ८८० मा मञ्चित भए ।ललितपुरका नाटककार रामभारोको 'वीरवाहु' ने.सं. ५४५ मा राजश्री महाविहारको स्थापना भएको उपलक्ष्यमा १२ दिनसम्म लक्षाहुति गरी मञ्चन गराइएको थियो । यो नाटक हेर्न भक्तपुरका राजा ज्योतिर्मल्ल ललितपुर आएका थिए ।राजा सिद्धिनरसिंह मल्ल -ने.सं. ७४२-७७७) ले ललितपुर दरबारको पश्चिमतिर रहेको डबलीमा कार्तिक नाच -नरसिंह नाच) मञ्चन गर्ने व्यवस्था गराए ।यो नाच हालसम्म पनि वर्सेनि कार्तिक महिनामा मञ्चन गरिन्छ । मल्लकालीन नाटक मञ्चनको नमुनाको रूपमा यस नाचलाई लिन सकिन्छ ।ललितपुर कार्तिक डबलीमा मञ्चन गरिने हास्यलघुनाटक 'यलय बाथः' का स्रष्टा राजा श्रीनिवास मल्लले मञ्चन गर्न लगाएको यस नाटकले नेपालको हास्याभिनयमा महत्त्वपूर्ण स्थान ओगटेको छ । नाटकमा तीन पात्र 'गं दाजु', 'समा दाजु' 'बाथः किजा' अभिनय गर्छन् । यी तीन पात्रमध्ये 'बाथः किजा' हुने पात्रको अभिनय ललितपुरको थकु जुजु -ठकुरी राजा, मल्ल राजा) को खलकले नै गर्नुपर्ने चलन भएको थियो । तर वि.संं. २००७ सालदेखि यो व्यवस्था हटाइएको छ ।वाथः किजा हुने मल्ल राजाका खलक को थिए ? खुल्दुली लाग्नु स्वाभाविक कुरा हो । नाटककार श्रीनिवास मल्ल युवराज छँदा 'वाथः किजा' भई अभिनय गर्थे भन्ने जनधारणा पनि रहेको छ । यदि यो कुरा सत्य हुन आयो भने अभिनय कलाको महत्त्वलाई मल्लकालमा विशेष स्थान दिइएको सावित हुन्छ । यो हास्य नाटक सिकाउने मूल गुरु -निर्देशक) थिए गंगाधर राजोपाध्याय ।मल्लकालमा लेखिएका केही नाटकहरूमा मिश्रति भाषाको प्रयोग भएको देखिन्छ । नाटककार राजा भूपतिन्द्र मल्लको 'माधवानल' मा प्रयुक्त भाषा- प्राकृत, संस्कृत, मैथिली र नेपाल भाषा थिए ।राजा जगत्प्रकाश मल्लले लेखेको नाटक 'पारिजातहरण' मा प्रयुक्त भाषा- संस्कृत, मैथिली, नेपाल भाषा र ब्रज भाषा थिए । नाटककार राजा रणजित मल्लको नाटक 'कृष्ण चरित' मा प्रयुक्त भाषा- संस्कृत, मैथिली, नेपाल भाषा थियो ।यिनै नाटककार राजा रणजित मल्लको नाटक 'कृष्ण कैलाशयात्रोपाख्यान' मा- बंगाली, संस्कृत र नेपाल भाषा थियो ।विभिन्न भाषाको ज्ञान भएका नाटककार मल्ल राजाहरू राजदरबारमा आश्रति कवि एवं जनकवि नाटककारहरूले एउटै नाटकभित्र विभिन्न भाषा पारी नाटक मञ्चन गराएका छन् । तर विचार गर्न कर लाउने कुरा के भने नाटकका संवादमा प्रयोग भएका भाषाले निर्देशक तथा कलाकारमा विविध भाषाको ज्ञान हुनु अझ चाललाग्दो छ । ती भाषामा संवाद बोलेर सर्वसाधारण दर्शकलाई नाटकको कथाबोध गराउन सक्ने क्षमता कलाकारमा हुनु विशिष्ट कुरो हो ।प्रकाशित मिति: २०६२ भाद्र ३१ ०६:२०

No comments:

Post a Comment