Monday, August 26, 2013

Rajopadhyaya in News

ललितपुरमा आधा मानव र आधा सिंहको स्वरुप
Posted: Sunday, Aug 25, 2013 09:13 AM ( 1 day ago ) 
सिल्भिया राजोपाध्याय/उज्यालो

भाद्र कृष्णपञ्चमीका दिन आइतबार ललितपुरमा परम्परागत नरसिंह यात्रा मनाईंदैछ । पुराण अनुसार आधा मानव र आधा सिहंको स्वरुपमा रहेको नरसिंह विष्णुको चौथो अवतार हो ।

पुराणमा हिरण्यकश्यपूको अत्याचार सहन नसकेर नरसिंहले आफनो काखमा राखेर न दिन न रातको समयमा नङले बध गरेको उल्लेख छ ।

काठमाडौं उपत्यकाका राजोपाध्याय समुदायले पालैपालो यस गुठीको अभिभारा लिएर सम्पूर्ण व्यवस्थापनको जिम्मा लिएको हुन्छ । धार्मिक यात्राको लागि प्रस्थान गर्नुअघि घरमा नरसिंह लगायत अन्य देवगणलाई पुजा गर्ने चलन छ ।

परिवारजन एवं अन्य भक्तजनको पूजापछि नरसिंह लक्ष्मी र सरस्वतीलाई दायाँबायाँ राखी नगर परिक्रमा गरिन्छ । चलन अनुसार जुन परिवारको पालो पर्छ, त्यस परिवारको ज्वार्इंलाई नरसिंह बनाइन्छ ।

बिभिन्न परमपरागत बाजागाजा सहित भजन गाएर ६ जोडी अप्सरा चमर, पंखा, कूचो लगायतका सामान लिएर नरसिंह जात्रामा सहभागी हुन्छन् ।

भक्त प्रल्हादले नमस्तेको मुद्रामा हातमा धूप लिएर नरसिंहतिर हेरेर उल्टोबाट पाइला चालेर नगर परिक्रमा गर्छन् ।

नरसिहंले पछाडितिर कपडाको पुतली लतारेर लैजान्छ । लतारेको पुतली छोयो भने बाल बालिकाको रुन्चे भाग्छ भन्ने जनविश्वास छ । तर नरसिंहको स्वरुप डरलाग्दो हुने भएकोले गर्भको बच्चा डराएर गर्भपतन हुन्छ पनि भन्ने गरिन्छ ।

ललितपूरको भित्री शहरको गाबहाल, पिम्वहाल, कुम्भेश्वर, कोबहाल, मंगलबजार, सुन्धारा, इकुबहाल, महाबौद्ध, टंगल, तिच्छु गल्ली, हौगल, इखालखु, पूर्णचण्डी लगायत बिभिन्न ठाउँमा परिक्रमा गर्ने क्रममा नरसिंहलाई ठाउँठाउँमा भक्तजनले पूजा गर्छन् ।

नगर परिक्रमापछि यो यात्रा जहाँबाट शुरु भएको हो, त्यहिँ पुगेर वैदिक पुजा पश्चात टुंगिन्छ ।

Source: http://ujyaaloonline.com/news/24403/%E0%A4%B2%E0%A4%B2%E0%A4%BF%E0%A4%A4%E0%A4%AA%E0%A5%81%E0%A4%B0%E0%A4%AE%E0%A4%BE-%E0%A4%86%E0%A4%A7%E0%A4%BE-%E0%A4%AE%E0%A4%BE%E0%A4%A8%E0%A4%B5-%E0%A4%B0-%E0%A4%86%E0%A4%A7%E0%A4%BE-%E0%A4%B8%E0%A4%BF%E0%A4%82%E0%A4%B9%E0%A4%95%E0%A5%8B-%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A4%B0%E0%A5%81%E0%A4%AA/

No comments:

Post a Comment