Friday, September 4, 2020

Rajopadhyaya in news: रातो मत्स्येन्द्रनाथको विवादबाट के सिक्ने?

खबर

रातो मत्स्येन्द्रनाथको विवादबाट के सिक्ने?



 


आभास धरानन्द राजोपाध्याय काठमाडौं - शुक्रबार, भदौ १९, २०७७

154Shares

 

लामो समयदेखि अन्योलमा रहेको रातो मत्स्येन्द्रनाथ (बुंगद्यः) को रथयात्राको अन्ततः बिहीबार अपराह्न निर्णय भएको छ। गुठी संस्थान, जिल्ला प्रशासन कार्यालय, प्रहरी र १९ वटा जातीय समाजको बैठकले भदौ १९ गते शुक्रबार क्षमापूजा गर्ने, भदौ २१ गते शनिबार सोह्रखुट्टे पाटीसम्म रथ तानेर छ्वय्लाबु गर्ने र भदौ २२ गते आइतबार भुज्या मनाउने निर्णय गरेको छ। यससँगै आइतबार करुणामयको बुंगमती प्रस्थानका लागि साइत हेर्ने पनि निर्णय भएको छ।

बिहीबार निषेधाज्ञाबीच जबरजस्ती रथ तान्न पुगेका स्थानीय र प्रशासनको आदेशअनुसार भीड नियन्त्रण गर्न पुगेका प्रहरीबीचको झडपपछि बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो। झडपपछि जात्राबारे गरिएको यस्तो निर्णयले संस्कृतिलाई निरन्तरता भने दिएको छ र यससँगै सबै पक्षले केही न केही पाठ अवश्य सिकेका छन्।

सांस्कृतिक नेतृत्व महत्त्वपूर्ण र त्यत्तिकै चुनौतीपूर्ण 

जात्रा संस्कृतिका मामिलामा नेतृत्व चुक्दा के कति असर पर्छ भन्ने उदाहरण हो, पुल्चोक घटना। समयमै सबै पक्षसँग सहमति कायम गरेर संस्कृतिलाई निरन्तरता दिन नसक्दा जनता आफैंले स्वतःस्फूर्त जिम्मेवारी लिन खोज्दाको परिणाम हो उक्त घटना। त्यसरी जिम्मेवारी लिन खोज्दा रीतिसम्मत नभएको एउटा पक्ष पनि छँदै छ, जसको उल्लेख यस लेखमा पछि गरिने छ।

यो घटनाले सबैभन्दा महत्त्वपूर्ण पाठ नेतृत्व वर्गलाई सिकाएको छ। सांस्कृतिक नेतृत्व कति संवेदनशील र त्यत्तिकै चुनौतीपूर्ण हुन्छ भन्ने भान गुठी संस्थान र प्रशासनलाई भएकै हुनुपर्छ। वैशाख शुक्ल प्रतिपदा (बछलाथ्व १) मा बुंगद्यःको रथारोहण गरी चतुर्थीमा जात्रा सुरु गरिनुपर्नेमा भदौ लाग्दासम्म पनि निर्णय गर्न नसक्नु ठूलै कमजोरी हो। त्यसमाथि अझ पटकपटक बैठक स्थगित गर्ने, जात्रा गर्ने वा नगर्ने भन्ने पक्षबीच बैठक गराइ सहमतिमा ल्याउन नसक्नु, निर्णय गर्न ढिलासुस्ती गर्नु आदि कार्यले बुंगद्यः लाई मान्ने पाटनवासीको आस्थासँग खेलवाड गरेको छ।

कुनै पनि संस्कृतिको आधार भनेको जनहित नै हुन्छ। जात्रापर्वले मानव मूल्यमान्यतालाई झन् सुदृढ पार्छ र लोककल्याणतर्फ प्रेरित गराउँछ।

जात्रापर्वको जिम्मेवारी पाएको गुठी संस्थान अद्यापि कर्मचारीतन्त्र र ठेकेदारीका समस्याले ग्रस्त छ। गुठी संस्थानले कार्यालय समयमा मात्र काम गर्ने, सुस्त काम गर्ने, सामान समयमा उपलब्ध नगराउने, गुणस्तरहीन सामग्री ल्याउने, पर्वपूजामा बाधा पुर्‌याउनेलगायत रवैया धेरै ठाउँमा देखाएको छ र यसका उदाहरण काठमाडौं उपत्यकाभित्र प्रशस्तै छन्। गुठीप्रतिको अविश्वासकै पृष्ठभूमिमा रातो मत्स्येन्द्रनाथको रथजात्राबारे निर्णय नहुनुले झन् आगोमा घ्यु थप्ने काम गरेको हो।

संस्कृति कुनै पनि व्यक्ति र समाजसँग अभिन्न रूपले जोडिएको हुन्छ। सामाजिक जीवनसँग प्रत्यक्ष जोडिने हुनाले यसप्रति राज्य जिम्मेवार हुनुपर्छ। तर सांस्कृतिक चासो, जगेर्ना र निरन्तरताको जिम्मेवारीमा राज्य पटकपटक असफल भएको छ-चाहे पशुपतिको मूलभट्ट काण्ड होस्, बाबुराम भट्टराईका पालामा इन्द्रजात्राको वा सम्पदा संरक्षणमा भएको अनियमितता र ढिलासुस्ती। यसमा राज्यले समयमै ध्यान दिन नसके परिणाम के हुन सक्छ भन्ने झल्को पुल्चोक घटनाले देखाएको छ।

प्रत्यक्ष सरोकारवाला भनेको अभ्यासकर्ता नै हो

संस्कृति सबैको साझा हो, जात्रामात्रा पनि सबैको साझा नै हो। तर, त्यसो भन्दैमा जोसुकैले जे पनि गर्न पाइँदैन। साझा भएकाले जति यससम्बन्धी अधिकार सबैको हो, त्यति नै कर्तव्य पनि सबैको हो। जात्राको सरोकारवाला हामी सबै हौंसरकार, प्रशासन, प्रहरी, स्थानीय, विज्ञ, समाज आदि। तर, जात्रा संस्कृतिमा प्रत्यक्ष सरोकारवालाका रूपमा संस्कृति अभ्यासकर्ता नै सर्वोपरि हुन्छ।

वैशाख शुक्ल प्रतिपदामा रातो मत्स्येन्द्रनाथको रथारोहण गरी चतुर्थीमा जात्रा सुरु गरिनुपर्नेमा भदौ लाग्दासम्म पनि निर्णय गर्न नसक्नु ठूलै कमजोरी हो। त्यसमाथि अझ पटकपटक बैठक स्थगित गर्ने, जात्रा गर्ने वा नगर्ने भन्ने पक्षबीच बैठक गराइ सहमतिमा ल्याउन नसक्नु, निर्णय गर्न ढिलासुस्ती गर्नु आदि कार्य पाटनवासीको आस्थासँग खेलवाड हो।

 

सरोकारवाला भन्दैमा आफ्नै टोलसहरको जात्रामै समेत हस्तक्षेप कदापि राम्रो मानिन्न। रातो मत्स्येन्द्रनाथ जात्रा सुरु गर्न केही विधिविधान छन्, त्यत्तिकै रमाइलोका लागि तानिने होइन। काठ, बेत, डोरी, रथमा विराजमान देवतालगायतका सुरक्षा गर्ने संस्कृतिकर्मी, रथजात्राअघि गरिने पूजा, यात्रामा उपस्थित हुनुपर्ने प्रत्यक्ष देवी कुमारी, मल्ल राजाका प्रतीकका रूपमा खड्ग, सारथीका रूपमा बस्ने स्यःस्यः बाजे (ललितपुरको महाद्यःननी कूलका राजोपाध्याय व्राह्मण), ज्यापू समुदायका संस्कृतिकर्मी आदिको उपस्थितिलगायत कार्य विधिविधानमा पर्दछ। सांस्कृतिक दायित्व बहन गर्ने संस्कृतिकर्मी बिनासंस्कृति निरन्तरता सम्भव हुँदैन भन्ने अर्को महत्त्वपूर्ण पाठ सो घटनाले सिकाउँछ।

मानवीयताको संस्कृति

कुनै पनि संस्कृतिको आधार भनेको जनहित नै हुन्छ। जात्रापर्वले मानव मूल्यमान्यतालाई झन् सुदृढ पार्छ र लोककल्याणतर्फ प्रेरित गराउँछ। कसैलाई हानिनोक्सानी गर्ने भन्ने संस्कृतिको उद्देश्य पक्कै हुँदैन। कहिलेकाहीँ अधिकारका कुरासँग बाझिने एउटा पक्ष छ, तर हानी गर्ने संस्कृति समाजले आफैं परिवर्तन पनि गर्दै लग्छ भन्ने सिद्धान्त छ।

 सांस्कृतिक चासो, जगेर्ना र निरन्तरताको जिम्मेवारीमा राज्य पटकपटक असफल भएको छ- पशुपतिको मूलभट्ट काण्ड होस्, बाबुराम भट्टराईका पालामा इन्द्रजात्राको वा सम्पदा संरक्षणमा भएको अनियमितता र ढिलासुस्ती।

संस्कृतिले मानवीयता सिकाउँछ तर भीडको मानसिकता पृथक हुन सक्छ। नेतृत्वहीन, अनियन्त्रित भीडलाई तोडफोड र हिंस्रक बनाउन केही उक्साउने तत्व हुन्छन्। यस्तै विविध कारण भीडले मानवीयता गुमाउने गरेका उदाहरण यसअघि पनि विभिन्न पक्षबाट देखिन्छ नै। स्वअनुशासन, चेतना र सम्मान भावले नै यस्तो परिस्थितिमा मानवीय हुन सिकाउँछ।

पत्रकारलाई पनि पेसागत पाठ

यस घटनासम्बद्ध सामाजिक सञ्जालमा भाइरल भएका केही दृश्यमध्ये सञ्चारकर्मीकै एउटा उदाहरण हेरौंभीडको लहैलहैमा पेसागत धर्म छोडेर ढुङ्गा हान्ने छुट कसैलाई छैन। पत्रकारको भूमिकामा बसेपछि पहिलो कर्तव्य हो, सत्य सूचना दिने। अनि फिल्डमा खट्ने कुनै पनि पत्रकारले परिस्थितिलाई झन् प्रभावित पार्नु कुनै हालतमा पेसाप्रतिको निष्ठा होइन। चोट लागे पनि त्यस्तो स्थितिमा पनि सूचना संकलन गर्न खटिएका व्यावसायिक र जिम्मेवार पत्रकार, फोटोपत्रकार र भिडियो पत्रकारको कार्यको मानहानी गर्ने अधिकार कसैलाई छैन ।

अनलाइन होस्, युट्युबर वा सामाजिक सञ्जाल प्रयोगकर्ता नै, सूचनाको यस युगमा यसप्रति इमानदारिता महत्त्वपूर्ण हुन्छ। झन् सूचनाकै क्षेत्रमा काम गर्ने पत्रकारका लागि इमानदारिता अपरिहार्य हो। सामाजिक सञ्जालमा जोसुकैले स्वतन्त्र अभिव्यक्ति दिन पाइन्छ, तर जे पनि लेख्न पाइन्छ भन्दैमा सूचनालाई बङ्ग्याउन पाइँदैन। अभिव्यक्ति स्वतन्त्रताको अधिकारसँगै कसैलाई हानी नगर्ने, गलत सूचना नदिनेजस्ता दायित्व पनि सँगै आउँछ।

 संस्कृति सबैको साझा हो, जात्रामात्रा पनि सबैको साझा हो। त्यसो भन्दैमा जोसुकैले जे पनि गर्न पाइँदैन। साझा भएकाले जति अधिकार सबैको हो, त्यति नै कर्तव्य पनि सबैको हो।

अन्त्यमा,

बिहीबारको पुल्चोक घटनामा जे भयो, भयो। अब त्यसबाट अघि बढौं। चित्त नबुझेका कुरा ढुङ्गा हान्ने, ढुङ्गा खाने, गुठी, प्रशासन, प्रहरी सबै पक्षका छन्। यो घटनालाई राजनीति नगरी संस्कृतिप्रति समर्पणका कारण उब्जेको कठिन परिस्थितिका रूपमा हेरी पाठ सिकौं, आगामी दिनमा अझ सफल नेतृत्व र जिम्मेवारी बहन गर्न प्रतिबद्ध होऔं। हामी सबै मिलेर संस्कृति निरन्तरता दिने हो, फुटेर होइन।

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७

Source: https://www.aayomail.com/news/4480?fbclid=IwAR3fidxJG9EAmkvI4ONusT1pZ8eCAshZ_yWyMOURTU7w2yZrcLNiQYD2dFQ


 


Rajopadhyaya in new : निषेधाज्ञामा रातो मत्स्येन्द्रनाथको रथ तानिँदा उठेका प्रश्न

खबर / विचार

निषेधाज्ञामा रातो मत्स्येन्द्रनाथको रथ तानिँदा उठेका प्रश्न

महामारीबीच सरकारले रातो मत्स्येन्द्रनाथ जात्रा व्यवस्थित गर्न नसकेकै हो? 






आभास धरानन्द राजोपाध्याय काठमाडौं - बिहीबार, भदौ १८, २०७७

926Shares

रातो मत्स्येन्द्रनाथ (बुंगद्यः) को रथयात्राबारे अनिश्चितताबीच जनताको धैर्यको बाँध टुटेको छ र आज स्वतःस्फूर्त रूपमा रथयात्रा सञ्चालन गर्न अग्रसर भए। कोभिड१९ महामारीबीच भीड गरेर रथयात्रा गरिनु जनस्वास्थ्यको दृष्टिकोणले खतरा त हो नै, तर महिनौँदेखि यसरी लथालिङ्ग हुन पुगेको जात्रामा गुठी संस्थानको नेतृत्वमाथि पनि यस घटनाले प्रश्न उठाएको छ।

पृष्ठभूमि हेर्ने हो भने कोरोना भाइरस सङ्क्रमण काठमाडौं उपत्यकामा देख्न थालेयता यस रथजात्राका लागि पटक-पटक असफल प्रयास भएका थिए।

सरोकारवाला पक्ष दुईतर्फ बाँडिएका थिए- जात्रा गर्नुपर्छ भन्ने पक्ष र यस्तो महामारीका बेलामा जात्रा गर्नु हुन्न भन्ने पक्ष। रथयात्राका लागि आवश्यक सामग्री जुटाउने, सबै पक्षसँग बैठक गरेर उचित निर्णय गर्ने र जात्राको सञ्चालन गर्ने जिम्मेवारी सरकारी स्तरमा गुठी संस्थानको हो। यसका लागि रातो मत्स्येन्द्रनाथको पाटनस्थित मन्दिर रहेको तःबहालमै रहेको गुठी संस्थानको ललितपुरको कार्यालय प्रमुख जिम्मेवार निकाय हो।

महामारीबीच जात्रा गर्ने कि नगर्ने भन्ने विवाद नै केही समय चल्यो र यसै बेलादेखि गुठी संस्थानको भूमिकामा प्रश्न उठेकै हो। एकातर्फ गुठी संस्थानलाई जात्रामात्रा सञ्चालन गर्नुपर्ने सांस्कृतिक दायित्व छ भने अर्कोतर्फ सरकारको आदेश पालना गर्नुपर्ने बाध्यता पनि छ। जनभावनाअनुसार रथयात्रा व्यवस्थित ढङ्गले सञ्चालन गर्ने वा महामारीका बेलामा जात्रा नगरी आवश्यक रीतिरिवाजमा सीमित गर्ने भन्ने दोधारमा गुठी संस्थान नराम्रोसँग चिप्लियो। 

निर्णयमा अलमल

महामारीकै छायामा गत जेठ ९ गते शुक्रबार ललितपुर महानगरपालिकामा बसेको बैठकले लकडाउनपछि उपयुक्त समयमा रथ बनाउने निर्णय गरेको थियो। रथ बनाउन सुरु भयो असार १० गते बुधबारबाट। 

यसपछि गुठी संस्थानले असार २४ गते बुधबार करुणामयको रथारोहण गर्ने निर्णय ग¥यो तर फेरि स्थगित गर्नुप¥यो। अनि, अर्को साइत निकालियो, साउन १० गतेका दिन १२ः०५ देखि १२ः२५ सम्मको।

सामान्य अवस्थामा वैशाख शुक्ल प्रतिपदा (बछलाथ्व १) मा करुणामयको रथारोहण गरी चतुर्थी तिथिमा जात्रा सुरु गरिन्छ। तर, यसपटक भने रथारोहण त भयो, रथजात्राको निर्णय भने हुन सकेन। यसका लागि केही दिनयता गुठी संस्थानमा पटकपटक बैठक डाकिएको थियो, तर पटकपटक ती बैठक स्थगित पनि गरिएका थिए। आज बिहानै पनि ११ बजेका लागि बैठक डाकिएकोमा त्यो पनि स्थगन गरिएको थियो तर स्थानीयले रथ तान्न खोजेपछि भने आकस्मिक बैठक बोलाइएको थियो। 

रथजात्रा विषयको यो अन्योल कायम रहँदा र ढिलो भइसक्दा पनि ठोस निर्णय पनि नहुँदा आजको स्थिति बन्न पुगेको हो। 

जात्रामात्रा जनहितार्थ गरिन्छ र यस्तो नौलो किसिमको महामारीका बेला जात्रा गर्दा जनहितलाई ध्यानमा राख्नैपर्छ।

जात्रामा ढिलासुस्ती : अझै कति पर्खने?

वैशाख महिनाबाट करिब एक महिना लामो चल्ने यो जात्राको भविष्य अहिले भदौ लाग्दासम्म टुंगोमा पुग्न सकेको छैन। प्रत्येक वर्ष दक्षिणायनअघि रातो मत्स्येन्द्रनाथलाई पाटनबाट बुंगमतीमा लग्नुपर्नेमा यस वर्ष कोभिड१९ महामारीका कारण यो यात्रा हुन सकेन।

दक्षिणायनअघि बुंगमती फर्काउनुपर्ने भन्ने एउटा कथन छ, त्यस्तै अर्को कथनअनुसार भने घटस्थापनाअघि नै मत्स्येन्द्रनाथलाई फर्काउनुपर्ने भन्ने छ। यस वर्ष अधिक मासका कारण दसैं पछाडि धकेलिएको छ र दोस्रो कथनअनुसार अझै पनि प्रशासनलाई केही समय छ। तर, संस्कृतिप्रेमी जनताको एउटै प्रश्न हो-अझै कति पर्खने?

जात्रा गर्नैपर्ने बाध्यताको आधार एउटा किंवदन्तीमा छ- ललितपुरले रातो मत्स्येन्द्रनाथको उचित सम्मान गर्न सकेन र जात्रा गरी समयमा बुंगमती पु¥याउन सकेन भने रातो मत्स्येन्द्रनाथलाई भक्तपुरमा लगिने छ। राजा नरेन्द्रदेव, आचार्य बन्धुदत्त र ज्यापू रथचक्रले मिलेर आसामबाट रातो मत्स्येन्द्रनाथलाई उपत्यकामा ल्याएको कथासँग जोडिन्छ यो किंवदन्ती।

जनता भर्सेस प्रशासन : जात्रा कसको?

जात्रा कसको भन्ने सबैभन्दा ठूलो प्रश्न यहाँ उठ्छ। प्रशासनले जात्रासंस्कृतिलाई सहजीकरण गर्नुपर्ने हुन्छ तर त्यसको मूल अभ्यासकर्ताहरूको भूमिका सर्वोपरि नै हो। न्यु नर्मलअवस्थामा जात्रामात्रालाई परिस्थितिबमोजिम व्यवस्थित गर्न सबै अभ्यासकर्ता र प्रशासनबीच छलफलबाट सहमति आवश्यकता थियो।

महामारी नियन्त्रण गर्न प्रशासनले निषेधाज्ञा लगाएको यस्तो अवस्थामा स्थानीय स्तरमै सावधानीबिना जात्रा गर्न खोज्नु चुनौतीपूर्ण नै हुन्छ। जात्रामात्रा जनहितार्थ गरिन्छ र यस्तो नौलो किसिमको महामारीका बेला जात्रा गर्दा जनहितलाई ध्यानमा राख्नैपर्छ। 

जबरजस्ती जात्रा चलाउने नाममा रीतिरिवाज पूरा नगरी, आवश्यक र जिम्मेवार संस्कृतिकर्मी अभ्यासकर्ता नबोलाइ, रथको सुरक्षालाई ध्यान नदिई रथजात्रा गर्नु भनेको अर्को सङ्कट निम्त्याउनु हो। रथजात्राअघि रथको सुरक्षा, रथको पाङ्ग्रा (घःचा) र मूलकाठ (घःमा) मा विराजमान भैरवलाई गरिने पूजा, रथको गति नियन्त्रण गर्ने ब्रेक (घःकु), रथका यी अवयवबारे जानकार ञवाल र वाराही समुदायलगायत स्यःस्यः बाजे (ललितपुरको महाद्यःननी कूलका राजोपाध्याय व्राह्मण), हनुमानढोकाबाट गुरुज्यूको पल्टन र पाटनका मल्ल राजाका प्रतीक खड्गको उपस्थिति सबै आवश्यक हुन्छ।

कोभिड१९ महामारीबीच भीड गरेर रथयात्रा गरिनु जनस्वास्थ्यको दृष्टिकोणले खतरा त हो नै, र महिनौँदेखि लथालिङ्ग हुन पुगेको जात्रामा गुठी संस्थानको नेतृत्वमाथि पनि अब प्रश्न उठेको छ।

आज स्थानीयले रथयात्रा सुरु गर्न खोज्दा यो परम्परा ख्याल गरिएको थिएन। एक त महामारी, त्यसमाथि अझ आजको घटनाले दुईवटा खतरा निम्त्याउँछ- पहिलो रथ दुर्घटनाको र दोस्रो सांस्कृतिक कलहको। रातो मत्स्येन्द्रनाथको जात्रामा पाटनका प्रायः सबै नेवाः जातीय समुदायको संलग्नता हुन्छ, यसर्थ कुनै एकलाई पन्छाउनु भनेको समुदायबीचको सौहाद्र्र सम्बन्ध बिगार्नु हो। अझ सम्बन्धित जिम्मेवार व्यक्तिबिना नै यसरी रथ तान्न खोज्नुले समाजमा राम्रो सन्देश पक्कै जाँदैन।

अनि कुरा उठ्छ, काठमाडौं वा भक्तपुरमा जात्रा किन गर्न दिइएन र ललितपुरमा मात्र किन दिइयो? उपत्यकाको लकडाउनमा तीनवटै जिल्लाको समान निषेधाज्ञा हो। महामारीलाई ध्यानमा राख्दा जात्रा छोट्ट्याएर आवश्यक कर्ममात्र गरिएको उदाहरण काठमाडौं, भक्तपुर र ललितपुरकै अन्य जात्रामा पनि छ।

 

प्रशासनसँगको रुष्टता

जनता यसरी उठ्नु भनेको सांस्कृतिक दायित्व पूरा गर्न नसकेकोप्रति विरोधमात्र होइन। यसका अन्य पक्ष पनि छन्। महामारी व्यवस्थापनमा प्रशासनप्रति जनताको चित्त नबुझेका प्रशस्त मुद्दा छन्। लकडाउनका कारण जनताको जीविकोपार्जनमा परेको समस्या, आर्थिक गतिविधिमा ह्रास, रोजगार गुमाउनु परेको, व्यापारव्यवसाय बन्द भएको, यथार्थपरक तयारी वा योजना दिन नसकेको, पार्टीगत नेतृत्व विवादमा अलमलिएको, जनसुरक्षालाई उचित ध्यान दिन नसकेको लगायत थुप्रै चित्त नबुझेका कुराहरू छन्।

अबको बाटो

जनता र प्रशासनका तर्फबाट यसरी प्रहरीसँग मुठभेड भएपछि अबको बाटो तत्कालै सहज हुन चाहिँ गाह्रै हुन्छ। एकातर्फ जनताको माग आफ्नो संस्कृति मनाउन पाउनुपर्ने छ, अर्कोतर्फ कोभिड१९ महामारीले निम्त्याउन सक्ने खतरा छँदैछ। केहीयता निषेधाज्ञामा संयमित झैं भएका जनता जात्राका लागि दबाब दिन उत्रेका थिए, तर रीतिरिवाजबिना आफैंले जात्रा अघि बढाउन तम्सिए।

रथजात्रा विषयको यो अन्योल कायम रहँदा र ढिलो भइसक्दा पनि ठोस निर्णय पनि नहुँदा आजको स्थिति बन्न पुगेको हो।

गल्ती प्रशासनको मात्र छैन, न जात्रा सम्पन्न भएको हेर्न चाहने जनताको। यहाँ कमजोरी नेतृत्वमा बसेकाहरूमा प्रष्ट छ- दुई पक्षसँग सल्लाह गरेर ढिला भइसक्दा पनि ठोस निर्णय गर्न नसक्नु, पटकपटक बैठक स्थगित गर्नु र अन्ततः जिम्मेवारीबाट पन्छिन खोज्नु। नेतृत्वसँग अझै पनि समय छ, चाँडोभन्दा चाँडो सबैसँग सल्लाह गरेर न्यु नर्मल परिस्थितिअनुकूल व्यवस्थित रूपमा जात्रालाई पूर्णता दिन। 

यो अनिर्णयबाट उब्जेको परिस्थितिले कसैलाई हानी नगरोस्, सबै समुदायबीचको सौहाद्र्रता भङ्ग नगरोस्, भक्तपुर र ललितपुरबीच समेत तीक्तता नआओस् भन्ने कामनामात्र गर्न सकिन्छ।



प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७

Source: https://www.aayomail.com/news/4433?fbclid=IwAR29WqM3wjRUjZTlORAqUbXn858cDV0Rj3ViALtkUY9QIeyKVzRCRVdfyfc