खबर
रातो मत्स्येन्द्रनाथको विवादबाट
के सिक्ने?
आभास धरानन्द राजोपाध्याय काठमाडौं - शुक्रबार, भदौ १९, २०७७
154Shares
लामो समयदेखि अन्योलमा रहेको रातो मत्स्येन्द्रनाथ (बुंगद्यः) को
रथयात्राको अन्ततः बिहीबार अपराह्न निर्णय भएको छ। गुठी संस्थान, जिल्ला प्रशासन कार्यालय, प्रहरी र १९ वटा जातीय समाजको बैठकले भदौ १९ गते शुक्रबार
क्षमापूजा गर्ने, भदौ २१ गते शनिबार सोह्रखुट्टे
पाटीसम्म रथ तानेर छ्वय्लाबु गर्ने र भदौ २२ गते आइतबार भुज्या मनाउने निर्णय
गरेको छ। यससँगै आइतबार करुणामयको बुंगमती प्रस्थानका लागि साइत हेर्ने पनि निर्णय
भएको छ।
बिहीबार निषेधाज्ञाबीच जबरजस्ती रथ तान्न पुगेका स्थानीय र
प्रशासनको आदेशअनुसार भीड नियन्त्रण गर्न पुगेका प्रहरीबीचको झडपपछि बसेको आकस्मिक
बैठकले यस्तो निर्णय गरेको हो। झडपपछि जात्राबारे गरिएको यस्तो निर्णयले
संस्कृतिलाई निरन्तरता भने दिएको छ र यससँगै सबै पक्षले केही न केही पाठ अवश्य
सिकेका छन्।
सांस्कृतिक नेतृत्व महत्त्वपूर्ण र त्यत्तिकै चुनौतीपूर्ण
जात्रा संस्कृतिका मामिलामा नेतृत्व चुक्दा के कति असर पर्छ भन्ने
उदाहरण हो, पुल्चोक घटना। समयमै सबै पक्षसँग
सहमति कायम गरेर संस्कृतिलाई निरन्तरता दिन नसक्दा जनता आफैंले स्वतःस्फूर्त
जिम्मेवारी लिन खोज्दाको परिणाम हो उक्त घटना। त्यसरी जिम्मेवारी लिन खोज्दा
रीतिसम्मत नभएको एउटा पक्ष पनि छँदै छ, जसको उल्लेख यस लेखमा पछि गरिने छ।
यो घटनाले सबैभन्दा महत्त्वपूर्ण पाठ नेतृत्व वर्गलाई सिकाएको छ।
सांस्कृतिक नेतृत्व कति संवेदनशील र त्यत्तिकै चुनौतीपूर्ण हुन्छ भन्ने भान गुठी
संस्थान र प्रशासनलाई भएकै हुनुपर्छ। वैशाख शुक्ल प्रतिपदा (बछलाथ्व १) मा
बुंगद्यःको रथारोहण गरी चतुर्थीमा जात्रा सुरु गरिनुपर्नेमा भदौ लाग्दासम्म पनि
निर्णय गर्न नसक्नु ठूलै कमजोरी हो। त्यसमाथि अझ पटकपटक बैठक स्थगित गर्ने, जात्रा गर्ने वा नगर्ने भन्ने पक्षबीच बैठक गराइ सहमतिमा ल्याउन नसक्नु, निर्णय गर्न ढिलासुस्ती गर्नु आदि कार्यले बुंगद्यः लाई मान्ने
पाटनवासीको आस्थासँग खेलवाड गरेको छ।
कुनै पनि संस्कृतिको आधार भनेको
जनहित नै हुन्छ। जात्रापर्वले मानव मूल्यमान्यतालाई झन् सुदृढ पार्छ र
लोककल्याणतर्फ प्रेरित गराउँछ।
जात्रापर्वको जिम्मेवारी पाएको गुठी संस्थान अद्यापि
कर्मचारीतन्त्र र ठेकेदारीका समस्याले ग्रस्त छ। गुठी संस्थानले कार्यालय समयमा
मात्र काम गर्ने, सुस्त काम गर्ने, सामान समयमा उपलब्ध नगराउने, गुणस्तरहीन सामग्री ल्याउने, पर्वपूजामा बाधा पुर्याउनेलगायत रवैया धेरै ठाउँमा देखाएको छ र
यसका उदाहरण काठमाडौं उपत्यकाभित्र प्रशस्तै छन्। गुठीप्रतिको अविश्वासकै
पृष्ठभूमिमा रातो मत्स्येन्द्रनाथको रथजात्राबारे निर्णय नहुनुले झन् आगोमा घ्यु
थप्ने काम गरेको हो।
संस्कृति कुनै पनि व्यक्ति र समाजसँग अभिन्न रूपले जोडिएको हुन्छ।
सामाजिक जीवनसँग प्रत्यक्ष जोडिने हुनाले यसप्रति राज्य जिम्मेवार हुनुपर्छ। तर
सांस्कृतिक चासो, जगेर्ना र निरन्तरताको जिम्मेवारीमा
राज्य पटकपटक असफल भएको छ-चाहे पशुपतिको मूलभट्ट काण्ड होस्, बाबुराम भट्टराईका पालामा इन्द्रजात्राको वा सम्पदा संरक्षणमा भएको
अनियमितता र ढिलासुस्ती। यसमा राज्यले समयमै ध्यान दिन नसके परिणाम के हुन सक्छ
भन्ने झल्को पुल्चोक घटनाले देखाएको छ।
प्रत्यक्ष सरोकारवाला भनेको अभ्यासकर्ता नै हो
संस्कृति सबैको साझा हो, जात्रामात्रा पनि सबैको साझा नै हो। तर, त्यसो भन्दैमा जोसुकैले जे पनि गर्न पाइँदैन। साझा भएकाले जति
यससम्बन्धी अधिकार सबैको हो, त्यति नै कर्तव्य
पनि सबैको हो। जात्राको सरोकारवाला हामी सबै हौं— सरकार, प्रशासन, प्रहरी, स्थानीय, विज्ञ, समाज आदि। तर, जात्रा संस्कृतिमा प्रत्यक्ष सरोकारवालाका रूपमा संस्कृति
अभ्यासकर्ता नै सर्वोपरि हुन्छ।
वैशाख शुक्ल प्रतिपदामा रातो
मत्स्येन्द्रनाथको रथारोहण गरी चतुर्थीमा जात्रा सुरु गरिनुपर्नेमा भदौ लाग्दासम्म
पनि निर्णय गर्न नसक्नु ठूलै कमजोरी हो। त्यसमाथि अझ पटकपटक बैठक स्थगित गर्ने, जात्रा गर्ने वा नगर्ने भन्ने पक्षबीच बैठक गराइ सहमतिमा ल्याउन
नसक्नु, निर्णय गर्न
ढिलासुस्ती गर्नु आदि कार्य पाटनवासीको आस्थासँग खेलवाड हो।
सरोकारवाला भन्दैमा आफ्नै टोलसहरको जात्रामै समेत हस्तक्षेप कदापि
राम्रो मानिन्न। रातो मत्स्येन्द्रनाथ जात्रा सुरु गर्न केही विधिविधान छन्, त्यत्तिकै रमाइलोका लागि तानिने होइन। काठ, बेत, डोरी, रथमा विराजमान देवतालगायतका सुरक्षा गर्ने संस्कृतिकर्मी, रथजात्राअघि गरिने पूजा, यात्रामा उपस्थित हुनुपर्ने प्रत्यक्ष देवी कुमारी, मल्ल राजाका प्रतीकका रूपमा खड्ग, सारथीका रूपमा बस्ने स्यःस्यः
बाजे (ललितपुरको महाद्यःननी कूलका राजोपाध्याय व्राह्मण), ज्यापू समुदायका संस्कृतिकर्मी आदिको उपस्थितिलगायत कार्य
विधिविधानमा पर्दछ। सांस्कृतिक दायित्व बहन गर्ने संस्कृतिकर्मी बिनासंस्कृति
निरन्तरता सम्भव हुँदैन भन्ने अर्को महत्त्वपूर्ण पाठ सो घटनाले सिकाउँछ।
मानवीयताको संस्कृति
कुनै पनि संस्कृतिको आधार भनेको जनहित नै हुन्छ। जात्रापर्वले मानव
मूल्यमान्यतालाई झन् सुदृढ पार्छ र लोककल्याणतर्फ प्रेरित गराउँछ। कसैलाई
हानिनोक्सानी गर्ने भन्ने संस्कृतिको उद्देश्य पक्कै हुँदैन। कहिलेकाहीँ अधिकारका
कुरासँग बाझिने एउटा पक्ष छ, तर हानी गर्ने
संस्कृति समाजले आफैं परिवर्तन पनि गर्दै लग्छ भन्ने सिद्धान्त छ।
सांस्कृतिक चासो, जगेर्ना र निरन्तरताको जिम्मेवारीमा राज्य पटकपटक असफल भएको छ- पशुपतिको मूलभट्ट काण्ड होस्, बाबुराम भट्टराईका पालामा इन्द्रजात्राको वा सम्पदा संरक्षणमा भएको
अनियमितता र ढिलासुस्ती।
संस्कृतिले मानवीयता सिकाउँछ तर भीडको मानसिकता पृथक हुन सक्छ।
नेतृत्वहीन, अनियन्त्रित भीडलाई तोडफोड र
हिंस्रक बनाउन केही उक्साउने तत्व हुन्छन्। यस्तै विविध कारण भीडले मानवीयता
गुमाउने गरेका उदाहरण यसअघि पनि विभिन्न पक्षबाट देखिन्छ नै। स्वअनुशासन, चेतना र सम्मान भावले नै यस्तो परिस्थितिमा मानवीय हुन सिकाउँछ।
पत्रकारलाई पनि पेसागत पाठ
यस घटनासम्बद्ध सामाजिक सञ्जालमा भाइरल भएका केही दृश्यमध्ये
सञ्चारकर्मीकै एउटा उदाहरण हेरौं— भीडको लहैलहैमा
पेसागत धर्म छोडेर ढुङ्गा हान्ने छुट कसैलाई छैन। पत्रकारको भूमिकामा बसेपछि पहिलो
कर्तव्य हो, सत्य सूचना दिने। अनि फिल्डमा खट्ने
कुनै पनि पत्रकारले परिस्थितिलाई झन् प्रभावित पार्नु कुनै हालतमा पेसाप्रतिको
निष्ठा होइन। चोट लागे पनि त्यस्तो स्थितिमा पनि सूचना संकलन गर्न खटिएका
व्यावसायिक र जिम्मेवार पत्रकार, फोटोपत्रकार र
भिडियो पत्रकारको कार्यको मानहानी गर्ने अधिकार कसैलाई छैन ।
अनलाइन होस्, युट्युबर वा
सामाजिक सञ्जाल प्रयोगकर्ता नै, सूचनाको यस युगमा
यसप्रति इमानदारिता महत्त्वपूर्ण हुन्छ। झन् सूचनाकै क्षेत्रमा काम गर्ने
पत्रकारका लागि इमानदारिता अपरिहार्य हो। सामाजिक सञ्जालमा जोसुकैले स्वतन्त्र
अभिव्यक्ति दिन पाइन्छ, तर जे पनि लेख्न पाइन्छ भन्दैमा
सूचनालाई बङ्ग्याउन पाइँदैन। अभिव्यक्ति स्वतन्त्रताको अधिकारसँगै कसैलाई हानी
नगर्ने, गलत सूचना नदिनेजस्ता दायित्व पनि
सँगै आउँछ।
संस्कृति सबैको
साझा हो, जात्रामात्रा पनि
सबैको साझा हो। त्यसो भन्दैमा जोसुकैले जे पनि गर्न पाइँदैन। साझा भएकाले जति
अधिकार सबैको हो, त्यति नै कर्तव्य
पनि सबैको हो।
अन्त्यमा,
बिहीबारको पुल्चोक घटनामा जे भयो, भयो। अब त्यसबाट अघि बढौं। चित्त नबुझेका कुरा ढुङ्गा हान्ने, ढुङ्गा खाने, गुठी, प्रशासन, प्रहरी सबै पक्षका छन्। यो घटनालाई
राजनीति नगरी संस्कृतिप्रति समर्पणका कारण उब्जेको कठिन परिस्थितिका रूपमा हेरी
पाठ सिकौं, आगामी दिनमा अझ सफल नेतृत्व र
जिम्मेवारी बहन गर्न प्रतिबद्ध होऔं। हामी सबै मिलेर संस्कृति निरन्तरता दिने हो, फुटेर होइन।
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७
Source: https://www.aayomail.com/news/4480?fbclid=IwAR3fidxJG9EAmkvI4ONusT1pZ8eCAshZ_yWyMOURTU7w2yZrcLNiQYD2dFQ