को हुन् खस ?
Print this article
Font size -16+
‘कस’बाट ‘खस’
बेबिलोनको कस्साइटबाट पूर्व हिँडेका कस्साइट्सहरु अफगानिस्तानबाट दक्षिण नलागेर पहाडैपहाड अझ पूर्व उक्लेका थिए । कस्साइटबाट आएकाले कसबाट अपभ्रंश भएर खस हुन पुगे । काश्मिर (खस/कसमिर, खस/कसहरुको मिर, अग्लो स्थान), कुमाउँ, गढवालबाट अझ पूर्व लाग्दै कर्णाली प्रदेशमा आएर बाह्रौं शताब्दीमा राज्य सञ्चालन गरेको देखिन्छ, जसको पूर्वी साँध गण्डकीसम्म थियो ।
खसहरु आर्य भए पनि वैदिक आर्य भने होइनन् । न त यिनीहरू वैदिक आर्यले जस्तो वेदअनुसार वेदी (होम गर्ने स्थान) बनाएर या लिङ्गपुजक नै थिए । लिङ्ग पूजा पनि वैदिक आर्यहरुको होइन, असुर द्रविडहरुले गर्ने लिङ्ग पूजा पछि आत्मसात् गरेका थिए ।
खसहरुको धर्म
खसहरु सबै मष्ट र प्रकृतिपूजक नै थिए । मष्ट पूजा गर्न या मृतक आत्मा जगाउन धामी भएता पनि हिन्दुधर्ममा झैं कुनै जातीय विभाजन थिएन । महामानव बुद्धको सन्देश प्रचारसँगै चल्ल र पछि मल्ल भएकाहरुले बौद्धधर्मलाई अपनाउन थाले । सुर्खेतको काँक्रेबिहार त्यसैको नतिजा हो ।
वि.सं. १३६० मा अल्लउदिन खिल्जिले चितोर लिएको अर्को वर्ष त्यहाँका रायठौरलाई (अहिलेका राठौर) अल्लाउदिन खिल्जिले उठिबास पारेपछि भारतका हरुवा राजारजौटाहरुको नेपाल प्रवेश देखिन्छ । यिनलाई महाराज जसु शाहीले आफ्नो छोरी हारमता दिएर समाचवर भन्ने स्थान दाइजोमा दिए । हारमताकी छोरो देवचन्द्ररले वि.सं. १४८४ मा काठमाडौं लुटेर फकिर्एपछि बाजे जसु शाहीले अछाम बुढी चर्पुकोट राज्य दिएका थिए ।
‘थकुली’बाट ‘थकाली’
जसु शाहीका कान्छा छोरा हंसराज शाही जुम्लाबाट थाकखोला आएर बसे । उनले त्यहीका स्थानीयसँग विवाह गरे । उनलाई ठकुरीको सट्टा ‘थकुली’ भनेर बोलाइन्थ्यो । कालान्तरमा उनैका सन्तान थकाली भए ।
खसहरुमा विचलन, जातपात र हिन्दु धर्म
भारतका रजौटाहरुसँग सम्पर्क बढेपछि खस राजाहरु उनीहरूसँग विवाहसम्बन्धका लागि उत्सुक हुन थाले । तर वैदिक हिन्दु तागाधारी (जनै लगाउने) राजाहरु अहिन्दु र तागा नलगाउने खसहरुसँग विवाहसम्बन्ध गाँस्न तयार भएनन् । यहींबाट उताको ठाकुर, राजपुत जस्तै खस राजाहरु र नातेदारहरुले आफूलाई “ठकुरी“ भन्न थाले र हिन्दुधर्म अपनाएर जनै लगाउन थाले । तर केही खसहरुले भने हिन्दू धर्म र जनै अस्वीकार गरिरहे र आज तिनै खसहरु पावइ खसका रूपमा चिनिन्छन् । हिन्दु धर्म अपनाउनाले जातपातको सूत्रपात स्वतः हुन गयो । यस कार्यमा कन्नौजबाट नेपालभित्र आएका अत्री ऋषिका चारभाइ सन्ततीहरुले अझ सहयोग गरे । तीमध्ये जेठा भाष्कर भट्ट षत्याडा बसे । यिनैका सन्तान पछि षत्याडा (खतिवडा) भएका हुन् ।
तर ढाँटेको कुरा काटे पनि मिल्दैन भनेझैं खसहरुले पुर्खादेखि गरिआएको कतिपय परम्परागत प्रचलनहरु त्याग्न सकेनन् र अझसम्म त्याग्न सकिएको छैन । जमरा, अक्षता, पर सरेको बार्ने, देवाली, मष्टपुजा, छोरीलाई ढोग्ने, भान्जालाई आदर गर्ने आदि कार्यहरू आज पनि नेपालका जनसुकै जातले गरिआएका छन् । ती चाहे हिन्दू मतावलम्बी हुन् या बौद्ध मतावलम्बी, सबै खस हुन् । पश्चिमबाट आएर काठमाडौं जिती राज्य गर्न सुरु गरेका मल्लहरुले आफ्नो साथमा ल्याएका जोशी, राजोपाध्याय जस्ता पुरोहितहरु पनि छ डोरे जनै नै लगाउँछन् र तर खसका प्रचलन भने अझै त्याग्न सकेका छैनन् ।
शाह र रक्तमिश्रण
शाहहरु इस्लाम धर्म मान्नेका सन्तान नभएर मगरहरुका थकाली या राजा हुन् । यिनीहरू पनि खस नै हुन् र पछि मात्र हिन्दुमतावलम्बी भएका हुन् । हिन्दु मतावलम्बी भए पनि शाहहरुले जमरा, अक्षता, पर सरेको बार्ने, देवाली, मष्टपुजा, छोरीलाई ढोग्ने, भान्जालाई आदर गर्ने आदि परम्परागत प्रचलनहरु अझसम्म त्याग्न सकेका छैनन् ।
पृथ्वीनारायण शाहका मावली मगर थिए भने ससुराली मकवानपुरका सेन पनि मगर नै हुन् । रणबहादुर शाहले बालबिधवा ब्राम्हणीसँग विवाह गरेका थिए । यिनैका छोरा गिर्वाणयुद्धबिक्रम हुन् । कुँवरहरु पनि तीन डोरे जनै लगाउने खस नै हुन् । राजा सुरेन्द्रले जंगबहादुरलाई हपार्दै ‘तँ खस भएर हाम्रो युवराज्ञी ताक्ने’ भनेर हपारेका थिए तर त्यतिबेलाका बलशाली जंगबहादुरले राजपरिवारसँग वैवाहिक सम्बन्ध कायम गरेरै छाडे ।
राजा त्रिभुवनले पञ्जावका राजकुमारीसँग विवाह गरेका थिए । धीरशमशेरले १८५७ मा लखनउबाट मुगल कन्या जौहर बानो (जुहार बेगम) लाई ल्याएका थिए । उनै मुगलकन्या जौहर बानोबाट जुद्धशमशेर जन्मिए भने जुद्धशमशेरबाट केन्द्रशमशेर । केन्द्रशमशेर राजा वीरेन्द्रका ससुरा तथा रानी ऐश्वर्यका बुबा हुन् ।
खसहरुमा जात
खसहरुमा धर्मको आधारमा नभएर कर्म, पद र स्थानको आधारमा बोलाइने चलन थियो, पछि यही नै जात हुनगयो ।
क) कार्यका आधारमा बनेका जातहरु
भट्ट – राजपुरोहित वा धर्माधिकारी
अधिकारी – दराको हाकिम
कार्की – राजस्व अधिकृत
भण्डारी – राजकीय कोषको प्रमुख
लेखक – लेखक
महत – ग्राम प्रमुख
रोकाया – महतको सहयोगी
ख) दर्जा, पदका आधारमा बनेका जातहरु
थापा – सैनिक दर्जा
खड्का – सैनिक दर्जा
राना – सैनिक दर्जा
बुढा – सैनिक दर्जा
ग) स्थानका आधारमा बनेका जातहरु
धिता – धिताल
पाण्डुसेरा – पाण्डे
सिञ्जा – सिंजापति
चैडिलागाउँ – चौलागाई
प्याकुरी – प्याकुरेल
सिम्खाडा – सिम्खडा
तिमिल्सैन – तिमिल्सिना वा तिम्सिना
घमिरगाउँ – घिमिरे
खसहरुमा जातपातको सूत्रपात
पूर्व खाँट्टि खसहरु मनुस्मृति (जो वास्तवमा मनुले लेखेको नभएर भृगु ऋषिले लेखेका हुन्) का आधारमा कुनै जातमा विभाजित थिएनन् । हरेक व्यक्ति आफूखुसी कर्म गर्न स्वतन्त्र थिए र आपसमा कुनै प्रकारको छुवाछुत पनि थिएन । तर राजारजौटाहरु हिन्दू मतावलम्बी हुनु, भारतका राजारजौटाहरुसँग विवाहसम्बन्ध कायम गर्नु तथा उनीहरूको प्रचलन अपनाउनु र कन्नौजबाट आएका भट्टहरुका कारण खसहरुमा बिस्तारै जातपातको सूत्रपात हुनगयो र यो सँगै पछुवाछुतको प्रथा सुरु भयो । तर यहाँ पनि एकरुपता भने कायम छैन ।
ब्राम्हणहरु आफै उपाध्याय जैशी, कुमाइ आदिमा विभाजित छन् । यिनीहरुमा उच्च कुल र नीच कुल भन्ने सोच कायम छ र एकआपसमा बिहावारी चल्दैन । कसैको मृत्यु भएमा हिन्दुस्तानका हिन्दुहरु नुन बार्दैनन् तर अशौचमा नुन बार्ने कार्य खसहरुले गर्थे, जो अहिले पनि कायम छ ।
शाहकालमा पाँडेहरुले नियम बनाउँदा आफूहरुलाई सिधे नुन (खानीको नुन), पालुङ्गो, मुँगको दाल आदि चल्ने अरूलाई नचल्ने नियम बनाएर अरूलाई भने लोप्पा ख्वाइदिए । राज्यको युवराज घोषित गर्नुपूर्व राजा शस्त्रशिल्पीको आरनमा गएर पूजा गर्दथे, शस्त्रशिल्पीलाई पूजा गरेर तरबार बनाउने अभिभारा दिन्थे र त्यही तरबार युवराज घोषित गर्ने दिन युवराजलाई शस्त्रशिल्पीले दिन्थे । यिनै शस्त्रशिल्पी आज कामी कहलाइएर कसरी अछुत भए ? ताज्जुब लाग्छ ।
कसरी फाल्ने जात ?
कुनै पनि कुराको बारेमा बुझ्न सबैभन्दा पहिले मूलमा नै पुग्नुपर्छ । मूल खुलेपछि सबैकुरा छर्लङ्ग हुन्छ । त्यसैले मूल हेर्ने हो भने माथि नै लेखिएको आधारमा हामी खस हौं र हामीमा जातपात, छुवाछुतको प्रचलन थिएन । त्यहाँ बनेको तरबार जति नियम बने, पछि बनेका हुन् । गान्धीले भारतमा तल्ला जातिका सबैलाई एकमुष्ठ गरेर हरिजन नामकरण गरे तर त्यसको कुनै उपादेयता भने निस्किएन । उल्टो, नेताहरूको लागि यो राजनीति र भोट सङ्कलन गर्ने अचुक अश्त्र बन्न गयो, जुन नेपालमा पनि देख्न सकिन्छ ।
त्यसैले संविधानमा लिखित रूपमा नै छुवाछुत र जातपातमाथि प्रतिबन्ध लगाइए पनि हाम्रो आजको मानसिकतालाई आधार मान्ने हो भने जातपात र छुवाछुत हट्न अझै कम्तीमा १०० वर्ष लाग्नसक्छ । अनि के १०० वर्षसम्म यही रीतिमा चल्ने ?
२००७ सालपछि नाटककार बालकृष्ण शमशेरले सम लेख्न थाले । भारतका प्रख्यात कवि तथा महान् अभिनेता अमिताभ बच्चनका पिता हरिवंश राय बच्चन श्रीवास्तव हुन् र जातले कायस्थ हुन् । आज हरिवंशका छोराहरु बच्चन भएका छन् र नाति-पनातीहरु पनि बच्चन नै लेख्नेछन् । कालान्तरमा उनीहरू सरनेम बच्चन नै हुनेछ ।
नेपालभित्र हामी जहाँ जाऔं, पहिले अनुहार हेरिन्छ, जात खुट्याउन नसके नाक हेरिन्छ र त्यसपछि पनि केही नलागेपछि जात सोधिन्छ । र जब जात उजागर हुन्छ तब हाम्रो घृणित जातपात र छुवाछूतको मानसिकता सक्रिय हुन्छ । आज विश्व एकीकरण भइरहेको बेलामा हाम्रो मानसिकता भने अझै जातमै अड्किएको छ । त्यसैले जातपात र छुवाछुतलाई फाल्ने नै हो भने मेरो विचारमा सबैभन्दा पहिले जात फाल्नुपर्छ । जब जात नै नभएपछि कसले सोध्छ जात ?
(यो मेरो व्यक्तिगत विचार हो । कसैलाई व्यक्तिगत रूपमा चोट पार्ने मेरो उद्देश्य होइन । साथै, इतिहासको जानकार नभएकोले दिइएका तथ्यहरू तलमाथि पनि पर्न सक्छन्, धन्यवाद ।)
तस्बिर : सिमिकोटका खस धामी (www.stateofformation.org)
Source : http://esamata.com/np/2015/%E0%A4%95%E0%A5%8B-%E0%A4%B9%E0%A5%81%E0%A4%A8%E0%A5%8D-%E0%A4%96%E0%A4%B8/
No comments:
Post a Comment