ईतिल्हन सम्यक महादान पर्वमा देवब्राह्मण
SamacharDesk – समाचारडेस्क | २०८० चैत्र १, बिहिबार

पाटनमा हुने यल इतिल्हन सम्यक् महादान पर्वलाई स्थानीय बौद्ध धर्मावलम्बीहरु ठुलै पर्वको रुपमा लिने गरेका छन् । यस पर्व अन्तर्गत पाटनका बौद्ध धर्मावलम्बीहरुले मान्दै आएका आआफ्ना दिपंकर बुद्धका १२५ वटा प्रतिमा पाटनको नागबहालमा राख्ने र दर्शन, पूजा गर्ने गरिन्छ ।
यसबेला बौद्ध धर्मावलम्बी अथवा बौद्ध धर्ममा आस्था राख्ने, स्थानीय धर्म, संस्कृति, परम्परामा रुचि राख्ने हजारौं दर्शनार्थी पाटन पुग्ने गर्छन् ।
हुन त यस परम्परालाई बौद्ध परम्पराको रुपमा चिन्ने र लिने गरिन्छ । तर, यसमा वेदका अध्येता ब्राह्मणहरुको पनि भूमिका छ भन्ने कुरा थोरैलाई मात्र थाहा होला ।
हो, पाटनको यल इतिल्हन सम्यक् महादान पर्वमा पाटनका देव ब्राह्मण (राजोपाध्याय ब्राह्मण) को पनि भुमिका रहेको पाइन्छ । हरेक पाँच बर्षमा हुने सम्यक् महादान पर्वमा स्वनिह्मका देव ब्राह्मणहरुले वेद पाठ गरी १२५ वटा दिपंकर बुद्धको प्रतिमालाई नागबहालमा भित्र्याउने चलन रहेको छ ।
यसै क्रममा हिजो स्वनिह्मका श्रीषभ जुजु राजोपाध्यायले स्वस्तिवाचन गरी बुद्ध प्रतिमाहरुलाई नागबहाल भित्र्याएका थिए ।
बज्रयान बौद्ध परम्पराको पर्वमा शैव–शाक्त सम्प्रदायका राजोपाध्याय व्राह्मणहरुको यो वैदिक परम्परा पनि अनिवार्य र आजसम्मको अटुट परम्परा हो । यसलाई काठमाडौँ उपत्यकाको धार्मिक सहिष्णुताको एउटा ज्वलन्त र राम्रो उदाहरणको रुपमा लिन सकिन्छ ।
हुन त, शैव, वैष्णव वा शाक्त धर्मका अनुयायीहरु स्वयम्भु वा बौद्ध विहार, महाविहार गई बुद्धको प्रतिमा अगाडी शिर झुकाउनु वा बौद्ध धर्मावलम्बीहरु पशुपति गई पशुपतिनाथको दर्शन गर्नु काठमाडौं उपत्यकाका नेवारको लागि कुनै नौलो कुरा होइन ।
बौद्ध व शैव धर्मसँग सम्वन्धित पर्वमा दुवै सम्प्रदायको सहभागीता यहाँ रही आएको पाइन्छ । ललितपुरमा ७७३ बर्षअघि ठकुरीवंशका राजा भाष्करदेवको पालादेखि सम्यक महादान पर्व निरन्तर संचालन भइरहेको मानिन्छ ।
विं.स १८६१ सम्म बर्षेनि आयोजना भइरहेको सम्यक महादान पर्व त्यसपछि पाँच पाँच वर्षमा हिरण्यवर्ण महाविहारको तत्वावधानमा आयोजना हुँदै आएको छ ।
यस पर्वमा चापागाँउ, बुंगमती, कीर्तिपुर, काठमाडौं र भक्तपुरका महाविहारमा रहेका देवीदेवताहरु एकै स्थानमा प्रदर्शनी गर्ने प्रचलन रहेको छ ।
आज बिहान चार बजेदेखि दिउँसो १ बजेसम्म देवीदेवता दर्शन तथा पूजा गराउने कार्यक्रम रहेको छ भने दिउँसो २ बजेदेखि ४ बजेसम्म भूमिशोधन पूजाका साथै दान प्रदान गर्ने कार्यक्रम रहेको हिरण्यवर्ण महाविहार सुधार समितिले जनाएको छ ।
पर्वको क्रममा हिजो विभिन्न स्थानका दिंपकर बुद्ध तथा देवीदेवतालाई मंगलबजार दरबार क्षेत्रमा भेला गराइएको थियो ।
त्यसपछि टंगल बसुन्धरा देवीलाई बाजागाजा सहित जात्रा गरी मंगलबजार ल्याएपछि दिपंकर बुद्धका प्रतिमाहरुलाई भिमसेन मन्दिर, पट्को, धलाचा हुँदै नागबहाल लगिएको थियो ।
source: https://www.samachardesk.com/devbrahaman-in-itilhane-samyak-mahadaan-festival-20240314?fbclid=IwAR1LVaijCHGtC5ozGRQkY5HVSxux93RBPhVomP3kdGz8-sVXdYa6r35vWZI