ललितपुरमा दशमहाविद्या पूजा
- तस्बिर : शिवेश शर्मा भदौ २१, २०७६ | शनिबार | ललितपुर

पाटनको कुम्भेश्वर–बगलामुखी क्षेत्र शुक्रबार जात्रामय थियो। अवसर हो, दशमहाविद्या पूजाको।
कौल तान्त्रिक परम्पराअनुसार आदि पराशक्तिका १० रूप मानिन्छ, दशमहाविद्या। देवीभागवत पुराण तथा अन्य शाक्त तान्त्रिक साहित्यले यस परम्पराको व्याख्या गर्दछ।
दशमहाविद्यामध्ये एक मानिन्छ, बगलामुखी। नेवाः परम्पराअनुसार समयबजिको द्वं (पहाडजस्तो गरी सजाइएको) राखेर बलि सहितको तामसिक पूजा गरिएको थियो बगलामुखीमा।

मन्दिरभित्र विनोदराज शर्माले बगलामुखीले तान्त्रिक विधिअनुसार पूजा गरे, उनलाई साथ दिए गणेशका रूपमा श्रीजय शर्माले।
यस वर्ष दशमहाविद्या पूजाको पालोवाला थियो, बगलामुखी मन्दिर।
त्यस्तै, मंगलबजारको कृष्ण मन्दिरपछाडि मोंमरु गल्लीमा छ, छिन्नमस्ता मन्दिर। नेपालभाषामा ‘मों’को अर्थ शिर हुन्छ र ‘मरु’को अर्थ नभएको भन्ने हुन्छ। शिर नभएको अर्थात् छिन्नमस्ता देवीलाई पनि तान्त्रिक विधिअनुसार सञ्जय शर्मा राजोपाध्यायले पूजा गरे।
यसरी नै तान्त्रिक पूजाको क्रम चल्यो, दशमहाविद्याका अन्य मन्दिरमा।
नेवाः समुदायका राजोपाध्याय ब्राह्मणले उक्त पूजा गर्दछन्, तर यसरी पूजा गर्न कौल परम्पराअनुसार सर्वाम्नाय दीक्षाप्राप्त हुनुपर्छ।
यसैअनुसार पूर्णचण्डीलाई कमलाका रूपमा पं. हेरम्बानन्द राजोपाध्यायले, धुम्बहाःस्थित धूमावतीमा पं. कोमलेशानन्द राजोपाध्याय, मातंगी मन्दिरमा धु्रवज्वालानन्द राजोपाध्याय र चक्रबहिःस्थित त्रिपुरासुन्दरी मन्दिरमा निरणज्वालानन्द राजोपाध्यायले पूजा गरेका थिए।

तान्त्रिक विधिअनुसारै दशमहाविद्यामध्ये कालीमा विष्णुचन्दन राजोपाध्याय, भैरवी मन्दिरमा विनोदज्वालानन्द राजोपाध्याय, पुल्चोकस्थित ताराको मन्दिरमा गजानन्द राजोपाध्याय र नकःबहिःको भुवनेश्वरी मन्दिरमा गोविन्दराज राजोपाध्यायले पूजा गरेका थिए।
पाटनका भित्री सहरका विभिन्न स्थानमा रहेका छन्, दशमहाविद्या देवीका मन्दिरहरू। श्रद्धालु भक्तजन यस दिन सबै १० ठाउँमा पूजा गर्न जाने प्रचलन छ।
पूजाका क्रममा राखिएका समयबजि द्वं पछि प्रसादका रूपमा वितरण गर्ने परम्परा छ।
