क्षतिग्रस्त चाँगुनारायणको जीर्णोद्धार
विश्वसम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर जीर्णोद्धारपछि ।तस्बिर :
लीला श्रेष्ठ/कान्तिपुर
कार्तिक १३, २०७४-भूकम्पले
क्षतिग्रस्त विश्वसम्पदामा सूचीकृत चाँगुनारायण मन्दिरको जीर्णोद्धारको सम्पन्न
भएको छ । क्षतिग्रस्त मन्दिरको जीर्णोद्धार गरी स्मारक संरक्षण तथा दरबार हेरचाह
कार्यालय (पुरातत्त्व विभाग) ले शनिबार मन्दिरमा लगाएको टेको हटाएको छ ।
भूकम्पपछिको पुनर्निर्माण (पीडीएनए) अन्तर्गत विनियोजित बजेटबाट मन्दिरको
जीर्णोद्धार गरिएको जानकारी स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको
छ ।
वरिष्ठ इन्जिनियर ओम धरानन्द
राजोपाध्याय र स्ट्रक्चरल इन्जिनियर छविराज घिमिरेको स्थलगत निरीक्षण
प्रतिवेदनअनुसार भूकम्पका कारण मन्दिरको माथिल्लो छानाको उत्तर पश्चिमको मुठल ८
इन्च ढल्केको र माथिल्लो तलाको गारो ६ फिट उचाइमा ३ इन्चसम्मको पलम्प आउट भएको
पाइएको जनाएको छ । उक्त प्रतिवेदनका आधारमा स्ट्रक्चरल विशेषज्ञ डा. पुरुषोत्तम
डंगोल तथा डिजाइन इन्जिनियर सम्पत घिमिरेको अध्ययनअनुरूप मन्दिरको पहिलो छानाको
नागोल लेभलसम्म भत्काई मन्दिर संरक्षण एवं जीर्णोद्धार गरिएको पुरातत्त्व विभाग
भक्तपुर प्रमुख मंगला प्रधानले बताइन् ।
मन्दिरको जमिन (भुईं) तला र पहिलो
तलाको भण्डारमा रहेको लिच्छविकालीन, मल्लकालीन तथा शाहकालीन सिक्का
(चाँदी, फलाम, पित्तल) मूर्ति (लक्ष्मी, नारायण, गरुढ, लक्ष्मीनारायण, हरिहर, अर्धनारीश्वर, गरुढनारायण, गणेश, भैरव, दात्ताका
मूर्तिहरू), हातहतियार (तामा,
पित्तल, ढलौटका खुकुरी, तरबार, बन्चरो, तीर, भाला, चुलेसी), गरगहना (सुनका
औंठीलगायत गरगहना), पुराना भाँडाकुँडा (अन्टी, पानस, दियो, कलश, दैनिक प्रयोगमा
आउने सामग्री), लिच्छविकालीन कुटो, कोदालीलगायत पुरातात्त्विक
सामग्री मन्दिरको भण्डारणबाट निकालेर अस्थायी भवन निर्माण गरी पुन: भण्डारण गरी
जीर्णोद्धार गरेको प्रधानले बताइन् । करिब १ हजार स्क्वायर फिटको अस्थायी भवन
निर्माण गरी चाँगुनारायण मन्दिरभित्रको ऐतिहासिक वास्तु तथा पुरातात्त्विक सामग्री
भण्डारण गरिएको छ ।
मन्दिर आफैंमा भण्डार भएकाले
मन्दिरभित्रका बहुमूल्य ऐतिहासिक पुरातात्त्विक सामग्रीको छुट्टै संग्रहालय
स्थापना गर्न आवश्यक रहेको पुरातत्त्व विभाग भक्तपुरले जनाएको छ । चाँगुनारायण
मन्दिरभित्र संगृहीत सामग्रीहरू संग्रहालयमा राखेर प्रदर्शन गर्नुपर्ने समेत उनले
बताइन् । चाँगुनारायण मन्दिरका विषयमा अध्ययन, अनुसन्धान र महत्त्वलाई बाहिर
ल्याउन पनि संग्रहालय आवश्यक रहेको जनाइएको छ । मन्दिरका कतिपय सामग्री
हनुमानढोकामा भण्डारण गरिएको पुरातत्त्व विभागले जनाएको छ । चाँगुनारायण मन्दिर
पसिरको किलेश्वर महादेव मन्दिर भने हेरिटेज एन्ड इन्भाइरोमेन्ट कन्जरभेसन
फाउन्डेसन नेपालले पुनर्निर्माण गरेको छ ।
चालु आवमा मन्दिर परिसरको सत्तल
(चौघेरा सत्तल) पुनर्निर्माणका लागि २५ लाख रुपैयाँ विनियोजन भएको र पुरातत्त्व
विभागले चौघेरा सत्तल पुनर्निर्माणका लागि करिब २४ करोड ३० लाख बजेट लागत इस्टमेट
तयार गरी टेन्डर प्रक्रिया थालेको इन्जिनियर मोहनकृष्ण श्रेष्ठले बताए । त्यसैगरी, चाँगुनारायण
मन्दिर परिसरकै क्षतिग्रस्त छिन्नामस्ता मन्दिर जीर्णोद्धारका लागि १५ लाख, चाँगुनारायण
मन्दिरको उत्तरतर्फको सरस्वती स्थानस्थित सरस्वती मन्दिर पुनर्निर्माणका लागि १५
लाख, चाँगुनारायण मन्दिर नजिकैको बलम्बु पाटी पुनर्निर्माणका लािग ५ लाख, भीमसेन पाटी
संरक्षणका लागि ५ लाख बजेट विनियोजन भएको उनले बताए ।
प्रकाशित: कार्तिक १३, २०७४